संखुवासभा — संखुवासभाको तुम्लिङटार विमानस्थलमा हवाइ इन्धन डिपो नहुँदा समस्या छ । एक हजार ४ सय मिटर लामो धावनमार्ग कालोपत्रे भएर हवाइ सेवा सञ्चालन भइरहेको यो विमानस्थलमा इन्धन डिपो नहुँदा आपत्कालीन उडानहरू सञ्चालनका लागि समस्या हुँदै आएको छ।
इन्धन डिपो नहुँदा पर्यटक उद्धार, बिरामी उद्धार, प्रकोप पीडित तथा राहत उद्धार लगायतका लागि समस्या हुँदै आएको छ। यहाँका राजनीतिक दल, व्यवसायी र स्थानीयवासीहरूले हवाइ इन्धन डिपो स्थापना गर्न माग गरेका छन्।
विपद्को काममा तुम्लिङटार विमानस्थलमा इन्धन भर्ने सुविधा नहुँदा काठमाडौँबाट हेलिकप्टर मगाउनुपर्दा समय धेरै लाग्ने र खर्च पनि बढ्ने गरेको छ। कतिपय अवस्थामा मौसमको कारण काठमाडौँबाट हेलिकप्टर आउन नसक्दा बिरामी तथा सुत्केरीको ज्यान जाने अवस्था समेत जिल्लाबासीले भोग्दै आएका छन्।
प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले हवाइ इन्धन डिपो राख्न अनुरोध गर्ने निणय गरेको बताए। 'तुम्लिङटारमा इन्धन भर्ने सुविधा भएको खण्डमा हेलिकोप्टरलाई तुम्लिङ्टारमा राख्ने व्यवस्था मिलाउन सकिने थियो,' प्रजिअ पोखेलले भने, 'तुम्लिङटार क्षेत्रलाई आधार मानेर पर्यटक उद्धार, बिरामी उद्धार, प्रकोप पीडित तथा राहत उद्धार गर्न सकिने थियो ।'
हवाइ इन्धन डिपो स्थापनाका लागि नेपाल आयल निगम केन्द्रीय कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र पर्यटन नागरिक उड्यन मन्त्रालयमा पत्राचार गरिएको उनले बताए।
