पाँचथर — पाँचथरको फिदिम र हिलिहाङलाई छुट्याएर बग्ने हेवा खोलाका लागि बेलिब्रिजका सामाग्री आइपुगेका छन्। मेची राजमार्गअन्तर्गत यहाँ बनेको पक्की पुल २०८० साल असार २ गतेको बाढीले बगाएको थियो। त्यसपछि २९ दिन लगाएर २ करोड लागतमा जोडिएको बेलिब्रिज गत असोज १२ को बाढीले बगाएपछि यहाँ दोस्रो पटक बेलिब्रिज राख्न थालिएको हो ।
सत्तरी मिटर लामो बेलिब्रिजका लागि आवश्यक पर्ने सबै पार्टपुर्जा निर्माण स्थलमा ढुवानी भएको सडक डिभिजन इलामका प्रमुख (इन्जिनियर) पवन भट्टराईले जानकारी दिए।
उनका अनुसार बेलिब्रिज ढुवानी भइसकेपनि जडान गर्ने प्राविधिक भने निर्माण क्षेत्रमा आइपुगेका छैनन् । प्राविधिकहरू यतिखेर सुनकोशीको फोक्सिङटारमा बेलिब्रिज खोल्न व्यस्त रहनका साथै जेठ १० गते भित्र हेवा खोला आइपुग्ने जानकारी प्राप्त भएको छ ।
‘आउनासाथ काम सुरु हुन्छ, सुरु गरेको १५ दिन भित्र जडान सकेर बेलिब्रिजबाटै सवारी र ढुवानीका साथै वारपार गराउने हाम्रो लक्ष्य हो,’ भट्टराईले भने । यो वर्ष जेठ लाग्दा नलाग्दै पर्याप्त वर्षा भइरहेकाले हेवा खोलामा बाढीको जोखिम बढेकाले पनि चाँडै बेलिब्रिज जडान गरिसक्नु पर्ने चुनौती थपिएको भट्टराईको भनाइ छ।
पाँचथरको फालेलुङ, याङवरक र हिलिहाङ हुँदै सिंगो ताप्लेजुङ जिल्लालाई सडक सञ्जालसँग जोड्न हेवा खोलामा बेलिब्रिज बगेपछि खोलामा ह्युम पाइप राखी सवारी र ढुवानीका साधन वारपार गराँइदैछ ।
यसैबिच सडक डिभिजन इलामले गत फागुनमा बोलपत्र आह्वान गर्दै बेलिब्रिज राख्ने कामका लागि प्रक्रिया अगाडी बढाएको थियो । यहाँ पुल बेलिब्रिजको बेस राख्नका लागि मात्रै ३ करोड ४९ लाख ३ सय ३६ रुपैयाँ खर्च गरेर बेस निर्माण गरिएको हो ।
भट्टराइका अनुसार बेलिब्रिजको बेसका लागि फिदिम नगरपालिकातर्फ दुई हजार ६ सय घन मिटर ग्याबिङ पर्खाल र ४ सय घन मिटर पक्की पर्खाल सहित पहुँच मार्ग तयार भइसकेको छ । बेलिब्रिज जडान र बेस निर्माणका लागि सडक डिभिजन इलामले दोभान–सुपर सौगात–लाइट विल्डर्स जेभी नामक निर्माण कम्पनीले सम्झौता गरेर काम गरिरहेको छ । हेवा खोलामा बेलिब्रिज राख्ने बेस निर्माणका लागि ४५ जना कामदार र दुई दर्जन बढी मेसिन र गाडी घोडा परिचालन गरिएको छ ।
