हेंवा खोलामा ठूला सवारी साधन आवागमन गराउने तयारी

जेष्ठ ८, २०८२

लक्ष्मी गौतम

Preparation for the movement of large vehicles in Henwa River

पाँचथर — मेची राजमार्गस्थित हेंवा खोलामा बाढीले डाइभर्सनमा क्षति पुर्‍याएसँगै ठूला सवारी साधन आवागमनमा असहज भएपछि खुलाउने प्रयास भइरहेको छ ।

पाँचथरको हिलिहाङ र फिदिमलाई जोड्ने उक्त खोलामा डाइभर्सनका लागि लगाइएका चारवटा हृयुमपाइप बुधबार साँझको वर्षासँगै आएको बाढीले क्षति पुर्‍याएको भने केही हृयुम पाइपमा बाढीसँगै आएको लेदो र काठपात पसेको थियो ।

हृयुम पाइपमा क्षति पुगेसँगै साना सवारी साधन आउजाउ भइरहे पनि मालबाहक र ठूला साधन भने चलेका थिएनन् । यसैबीच सडक डिभिजन इलामले स्काभेटर प्रयोग गरेर बाढीले वरपर सारेका हृयुम पाइप पुनः मर्मत गर्नुका साथै ढुङ्गा र काठ झिक्न थालेको सडक डिभिजन इलामका कर्मचारी डम्मर मिश्रले जानकारी दिए । 

मिश्रका अनुसार अबको केही घण्टा पश्चात डाइभर्सन मर्मत गरिसकेर ठूला यात्रु बाहक र मालबाहक गाडी आवागमन सहज बनाइने छ ।

२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि मेची राजमार्गको हेवा खोलामा डाइभर्सन गरिएको हो ।

उक्त खोलामा जोड्ने बेलिब्रिज आइसकेको र जडान कार्य जेठ महिनाभित्रै सकिने सडक डिभिजन इलामले जनाएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully