शाखा अधिकृत नहुँदा इलाका प्रशासनमा सेवा प्रवाह बन्द

जेष्ठ ८, २०८२

डम्बरसिं राई

Due to the lack of branch officers, service delivery in the area administration is stopped

खोटाङ — जिल्लाको दक्षिणी क्षेत्र खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत नहुँदा सेवाग्राही मारमा परेका छन् । 

गृह मन्त्रालयले शाखा अधिकृत नखटाउँदा नागरिकता, नाबालक परिचयपत्र, दलित, जनजाति प्रमाणीकरण लगायतका काम बन्द भएको छ । नायव सुब्बा मोहनबहादुर राईलाई दिइएको कायममुकायम अधिकृतको म्याद जेठ ६ गते सकिएपछि सेवा प्रवाह बन्द भएको हो । 

सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुंगा र बाराहापोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेका छन् । नायव सुब्बा राईलाई कायममुकायमको जिम्मेवारी तोक्न पत्राचार गरिसकेको र निर्णय हुनासाथ सेवा प्रवाह सुरु हुने निमित्त प्रमुख जिल्ला अधिकारी सागर शाहले बताए । ‘कायममुकायमको म्याद सकिएको बारे सम्बन्धित निकायमा पत्राचार गरिसकिएको छ,’ उनले भने, ‘निर्णय हुनासाथ काम सुरु हुन्छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully