हटा‍‍‍‍इयो फोक्सिङटारको बेलिब्रिज

नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालियो

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

Bailbridge of Foxingtar removed

खोटाङ — सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदी तर्न जडान गरिएको अस्थायी बेलिब्रिज हटाइएको छ ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो । नदीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । बेलिब्रिज जडान गर्न र खोल्नका लागि एक करोड दुई लाख रूपैयाँको लागतमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले ठेक्का लिएको थियो ।

बेलिब्रिज जडानपछि पुस २७ गतेदेखि सञ्चालनमा आएको थियो । उक्त ठाउँमा ५० मिटरको बेलिब्रिज जडान गरिएको थियो । बेलिब्रिजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार जोडेको थियो । 

बेलिब्रिज हटाइएपछि दिक्तेलबाट गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टा आउजाउ गर्न कठिन भएको छ भने ती स्थानमा पुग्न दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने भएको छ । यो वैकल्पिक बाटो यात्राका निम्ति कठिन, लामो र साँघुरो छ । 

बेलिब्रिज निकालिएपछि तराईसँग खोटाङको यातायात सम्बन्ध विच्छेद हुँदा दैनिक उपभोग्य तथा अन्य सामग्रीको भाउ बढ्ने स्थानीयले बताएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully