दुई महिनादेखि खोरमा थुनिएका बालकको उद्धार 

जेष्ठ ७, २०८२

रमेशचन्द्र अधिकारी

Rescue of a child who has been locked in a cage for two months

धनकुटा — दुई महिनादेखि खोरमा थुनिएका तेह्रथुमको फेदाप गाउँपालिका-१ का एक बालकको बुधबार साँझ उद्धार गरिएको छ ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका-५, परेवादिनस्थित ससुरालीघर बस्ने सोमकुमार लिम्बूका ८ वर्षीय सुहाङ लिम्बूलाई मानसिक सन्तुलन ठीक नभएको भन्दै परिवारले खोरमा थुनेर राखेको थियो । सामाजिक सञ्जालमा उक्त जानकारी पाएपछि प्रहरी चौकी सिधुवाबाट खटिएको टोलीले बालकको उद्धार गरेको हो । 

टाटी बेराले बनाएको गोठसमेत भत्काउन लगाएर बालकलाई अभिभावकको साथ मानवीय तरिकाले राख्न परामर्श दिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । 'मानसिक सन्तुलन ठीक नभएको भन्दै टाटीको बेराको गोठ बनाई २ महिनादेखि थुनेर राखेको रहेछ,' उनले भने, 'सामाजिक संजालबाट सूचना प्राप्त हुनासाथ बालकलाई उद्धार गरिएको हो ।' बालकलाई बिहीबार स्थायी ठेगाना तेह्रथुममा लगेर जन्मदर्तालगायत आवश्यक कागजपत्र बनाई उपचारका लागि काठमाडौंतर्फ पठाउन समन्वय भइरहेको उनले बताए ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully