चार जना सांसद चढेको कारलाई डीएसपीको गाडीले ठक्कर दियो 

जेष्ठ ५, २०८२

लक्ष्मी गौतम

The car carrying four MPs was hit by the DSP's vehicle

पाँचथर — कोशी प्रदेशका चार जना सांसद चढेको निजी कारलाई नेपाल प्रहरीका डीएसपीले चलाएको गाडीले ठक्कर दिएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापादेखि मोरङ जाने क्रममा सांसदहरू चढेको बीएई १४०६ नम्बरको कारलाई विपरीत दिशाबाट आँउदै गरेको बा ५ च ३५३० नम्बरको गाडीले सोमबार दिँउसो ठक्कर दिएको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेदप्रकाश जोशीका अनुसार सांसदहरू सवार गाडी सांसद मैया श्रेष्ठ लावतीको हो भने ठक्कर दिने गाडी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले चलाएका थिए । ठक्कर दिने गाडी र चालक डीएसपी खनाललाई अनुसन्धानको दायरामा ल्याइएको पनि जोशीले बताए ।

कोशी प्रदेश सभाको बैठकमा भाग लिन जाने क्रममा आफूहरू सवार गाडीलाई प्रहरीका डीएसपीले हाँकेको गाडीले ठक्कर दिएको सांसद लावतीले बताइन् । ‘हामी बिस्तारै जाँदै थियौं, विपरीत दिशाबाट आएको गाडी स्पिडमा थियो, जोगिँदा जोगिँदै पछाडिको चक्कामा ठक्कर दियो,’ सांसद लावतीले भनिन ।

कारमा लावतीसहित कोशी प्रदेशका सांसदहरू राधाकृष्ण खनाल,नम्बरलाल धिमाल,विद्या चाम्लिङ र चालक भेषराज श्रेष्ठ सवार थिए । चाम्लिङ र धिमाल सामान्य घाइते छन् । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully