फोक्सिङटारमा बेलिब्रिज खोल्न थालियो, तराईसँगको सिधा यातायात विच्छेद

जेष्ठ ५, २०८२

डम्बरसिं राई

A bailey bridge was opened at Foxingtar, cutting off direct traffic with the Tarai

खोटाङ — सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल सडक) अन्तर्गत फोक्सिङटारस्थित अस्थायी बेलिब्रिज सोमबारदेखि खोल्न थालिएको छ । गत असोज १२ गतेको बाढीले पुल बगाएपछि लगाइएको बेलिब्रिज खोलिएपछि तराईसँगको सिधा यातायात सम्बन्ध विच्छेद भएको छ ।

गाईघाट–दिक्तेल सडक योजनाका योजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीका अनुसार पानीको सतह बढ्दै गएकाले त्यसलाई मध्यनजर गर्दै बेलिब्रिज खोल्न थालिएको हो । उक्त बेलिब्रिज जडान गर्न र खोल्नका लागि एक करोड दुई लाख रूपैयाँको लागतमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले ठेक्का लिएको हो ।

उक्त बेलिब्रिज जडानपछि पुस २७ गतेदेखि सञ्चालनमा आएको थियो । उक्त ठाउँमा ५० मिटरको बेलिब्रिज जडान गरिएको छ । उक्त बेलिब्रिजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार जोडेको थियो । 

बेलिब्रिज निकालिएपछि तराईसँग खोटाङको यातायात सम्बन्ध विच्छेद हुँदा दैनिक उपभोग्य तथा अन्य सामग्रीको भाउ बढ्ने स्थानीयले बताएका छन् । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले भने उपभोग्य वस्तुमा मूल्य नबढ्ने बताएका छन् । ‘बेलिब्रिज खोल्न अघि नै उपभोग्य वस्तु स्टोर गरिएको छ, अभाव हुँदैन,’ आचार्यले भने । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully