विराटनगर — कोशी प्रदेश सभाको सातौं तथा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरिने अधिवेशन आइतबारदेखि सुरु हुँदैछ ।
प्रदेश सभा सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजे बस्नेछ ।
सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार प्रारम्भिक बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त बैठक आह्वानसम्बन्धी पत्रहरू पढेर सुनाइनेछ । यो औपचारिक प्रक्रियाअन्तर्गत प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम आह्वान गरेका बैठकसम्बन्धी पत्रहरू सभामा प्रस्तुत गरिने छन् ।
त्यसपछि सरकारले ल्याएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२’ प्रदेश सभामा टेबुल गर्ने कार्यक्रम रहेको छ । यो अध्यादेश प्रदेश सरकारका तर्फबाट संविधानको धारा २०२ को प्रयोग गर्दै ल्याइएको हो, जसमा हालका कतिपय कानुनी व्यवस्थामा आवश्यक संशोधन प्रस्ताव गरिएको छ ।
साथै, सातौं अधिवेशनको पहिलो बैठकमै प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूले धारणा राख्ने कार्यक्रम तय गरिएको छ । प्रमुख दलहरूका तर्फबाट सरकारको आगामी नीति, कार्यक्रम र बजेटको प्राथमिकताबारे प्रारम्भिक टिप्पणीहरू आउने सम्भावना छ ।
सातौं अधिवेशन विशेषगरी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल र पारित गर्ने कार्यसूचीका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
