ताप्लेजुङ — हिउँदमा अधिक चिसो हुने धार्मिक पर्यटकीय स्थल सिदिङ्वा धामको प्रचारप्रसारका लागि ‘प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव २०८२’ हुने भएको छ । सिदिङ्वा गाउँपालिकाले जेठ १५ देखि १७ गतेसम्म तीन दिने धार्मिक पर्यटन महोत्सव गर्ने भएको हो ।
३ हजार ५ सय १५ मिटर उचाइमा रहेको यहाँ कला, साहित्य, सिर्जना, खेलकुद सहितका कार्यक्रम हुने भएको हो । ‘यो गाउँपालिकामा ढङढङे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा र सिदिङ्वाधाम गरी चार मुख्य पर्यटकीय स्थल छन्,’ गाउँपालिका अध्यक्ष मानबहादुर राईले भने, ‘यिनको प्रचार र प्रवर्द्धन गरेर पर्यटक भित्र्याउनुपर्ने दायित्व गाउँपालिकाको छ ।’
सिक्किमसँगको सीमावर्ती गाउँ भएकाले भारतदेखिका मानिसलाई महोत्सवमा ल्याउने गरी गाउँपालिकाले तयारी गरेको छ । महोत्सवमार्फत जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा पनि राखिएको गाउँपालिका अध्यक्ष राईले बताए । सिदिङ्वा धाम कञ्चनजंघा पदयात्राको मुख्य प्रवेश मार्गका रूपमा रहेको छ ।
तीन दिने पर्यटन महोत्सवमा सिदिङ्वाधाम दर्शन यात्रा, भलिवल प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शन, सांस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकले बताए ।
महोत्सवमा नौमती बाजा, च्याब्रुङ नाच (केःलाङ), साकेला सेलोसहित स्थानीय समुदायमा आधारित संस्कार संस्कृतिको प्रदर्शन हुने गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले जानकारी गराइन् । महोत्सवका लागि ३८ लाख रुपयाँ खर्च हुने अनुमान रहेको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिए ।
