उदयपुर — त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा बसपार्क छेउमा बनाइएका अवैध संरचना भत्काएको छ । बसपार्क छेउमा अवैध रूपमा बनाइएका नौ ओटा घरलाई भत्काउन नगरपालिकाले बुधबार सूचना जारी गरेकोमा अटेर गरी बसिरहेकाहरूको घर–टहरा बिहीबार डोजर लगाएर भत्काइएको हो ।
नगरपालिकाले बनाएको ‘भवन तथा बाटो सम्बन्धी मापदण्ड २०७४’ अनुसार बसपार्क बिस्तार गर्ने क्रममा ऐलानी जग्गामा बनाइएका घर–टहराहरूलाई भत्काइएको मेयर बसन्त बस्नेतले बताए । त्रियुगा नदी किनारमा अवैध संरचना बनाएर बसोबास गर्ने सत्यदेवदास चौधरी, बलदेवदास चौधरी, शंकर चौधरी, हरिहरवति चौधरी, शर्मिला चौधरी, नीरबहादुर रोका, श्यामकुमार चौधरीको घर–टहरा भत्काइएको त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष तिलक कटुवालले बताए । घर धनी पहिचान हुन नसकेका भाडावाला सोनु चौधरी, सञ्जयवती चौधरीको टिनको छाना भएको घर र सार्वजनिक शौचालयसमेत भत्काइएको छ ।
नदी किनारमा घर बनाएर बसेका सुकुम्बासीलाई त्रियुगा बसपार्ककै अर्को छेउमा जग्गा उपलब्ध गराइएको मेयर बस्नेतले बताए । उनका अनुसार भत्काइएका ठाउँमा एक कट्टा छ भने अर्को स्थानमा दस धुर घडेरी उपलब्ध गराइएको छ । भत्काइएको ठाउँमा दुई कट्टा हुनेलाई एक कट्टा दिइएको र वास्तविक सुकुम्बासीलाई अर्को ठाउँमा सार्ने र जग्गा दिने गरी नगरपालिकाले घर भत्काएको वडाध्यक्ष कटुवालले बताए ।
आधुनिक रूपमा निर्माण भइरहेको त्रियुगा बसपार्कको निर्माण कार्यमा अवरोध पुग्ने भएकाले ती संरचना भत्काउनु परेको नगरपालिकाले बताएको छ । त्रियुगा नगरपालिकाका उप–मेयर महेश्वरी राईले नगर क्षेत्रमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्दै जाने नगरपालिकाको नीति अनुरूप पहिलो चरणमा त्रियुगा बसपार्क क्षेत्रका नौ ओटा घर भत्काइएको र वडा नम्बर १३ स्थित मदन भण्डारी सभा हल क्षेत्रमा बनेका संरचना समेत भत्काइने बताइन् । उनका अनुसार नगर क्षेत्रभित्र रहेका वास्तविक सुकुम्बासीको पहिचान गर्दै व्यवस्थित गर्ने अभियान अन्तर्गत बसपार्क निर्माणमा अवरोध भएकाले कानुनी प्रक्रिया पुर्याएर भत्काइएको हो ।
‘सार्वजनिक जग्गामा घर बनाएर बसेकाहरूलाई आफैंले घर भत्काउन पटक पटक आग्रह गरेपनि अटेर गरेपछि नगरपालिकाले सूचना जारी गरेर संरचना भत्काइएको हो, तर वास्तविक सुकुम्बासीको व्यवस्थापन नगरपालिकाले गर्छ,’ मेयर बस्नेतले भने । घर भत्काउन डोजर बस्तीमा पुगेपछि केहीबेर नगर प्रहरी र स्थानीयबीच घम्साघम्सीसमेत भएको थियो ।
