आफैंले बोकेको भरुवा बन्दुक पड्कँदा एकको मृत्यु

वैशाख ३१, २०८२

लक्ष्मी गौतम

One died when his loaded gun went off

पाँचथर — पाँचथर भरुवा बन्दुक बोकेर साथीसँग जंगल गएका पाँचथर फिदिम नगरपालिका-९ निवासी २० वर्षीय सुन्दर सारु मगरको ज्यान गएको छ । मंगलबार राति साढे ११ बजे स्थानीय मनबहादुर सम्बाहाम्फेसँग भरुवा बन्दुक लिएर फाल्गुनन्द-१ को जंगलमा गएका सारुलाई पेटमा बन्दुक पड्केर लाग्दा ज्यान गएको हो ।

जंगलमा बन्दुक पड्केर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नवमीडाँडाबाट खटेको प्रहरी टोलीले सारुलाई उद्धार गरी अस्पताल ल्याइ पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनीसँगै बन्दुक लिएर जंगल गएका ३३ वर्षीय सम्बाहाम्फेलाई बुधबार भरुवा बन्दुकसहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए ।

उनका अनुसार उनीहरु के प्रयोजनका लागि बन्दुकसहित जंगल गएका थिए भन्ने विषय खुल्न सकेको छैन ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully