विराटनगर — मोरङको रतुवामाई नगरपालिका-३ मिर्चा डागीमा माइक राखिएको बाँस ढल्दा करेन्ट लागेर दुई जना महिलाको ज्यान गएको छ भने एक जना सामान्य घाइते भएकी छन्।
मंगललाल सिंहका छोरा निरजकुमार सिंहको विवाह समारोहका लागि माइक बाँधिएको बासमा मंगलबार साँझ करिब ८:२० बजे अचानक आएको हावाहुरीका कारण बाँस ढली हाइटेन्सन लाइनमा छुन पुगेपछि विद्युत् प्रवाह भएर घटना भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर छिमेकी सतारुलाल गनगाईकी ७३ वर्षीया श्रीमती सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी ७० वर्षीया श्रीमती रामुदेवी गनगाई गम्भीर घाइते भई उपचारका लागि रंगेली अस्पताल लगिएकोमा सोही दिन राति ९:०० बजे उपचारकै क्रममा दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जानकारी दिएको छ।
त्यसैगरी घटनामा परेर राधाकुमारी सिंह पनि करेन्ट लागि सामान्य घाइते भएकी छन्। उनलाई नगर अस्पताल झुर्किया ल्याई सामान्य उपचार पछि डिस्चार्ज गरिएको बताइएको छ। घटनापछि इलाका प्रहरी चौकी महादेवा र इप्रका सिजुवाबाट प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
