कोशी प्रदेशस्तरीय सुरक्षा बैठक बुधबार

१४ जिल्लाका सुरक्षा प्रमुखको सहभागिता, गृहमन्त्री लेखकको विशेष सम्बोधन

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Koshi state level security meeting on Wednesday

विराटनगर — पछिल्लो समय विकसित भइरहेको राजनीतिक परिस्थितिकाबीच कोशी प्रदेशस्तरीय सुरक्षा बैठक बुधबारदेखि विराटनगरमा सुरु हुँदैछ । प्रदेश तथा संघीयस्तरमा देखिएको अस्थिरता, सरकार गठनको प्रयास र सम्भावित आन्दोलनका सन्दर्भमा यो बैठकलाई विशेष महत्त्वका रूपमा हेरिएको छ ।

विराटनगरस्थित होटल एसियाटिकमा आयोजना हुने बैठकमा कोशी अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहभागी जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति दिइनेछ । त्यसपछि संघीय गृहमन्त्री रमेश लेखकको विशेष सम्बोधन रहने जनाइएको छ । मन्त्री लेखक मंगलबार बिहानै विराटनगर आइपुगेका छन् । उनले कारागारलगायतका विभिन्न निकायको अवलोकनसमेत गर्ने कार्यक्रम छ । 

सुरक्षा बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक र प्रदेश तथा जिल्ला तहका सुरक्षा अधिकारीहरूको उपस्थिति रहनेछ ।

पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन, सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक गतिविधि र सामाजिक अपराधहरूबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ ।

सुरक्षा संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउँदै प्रदेशमा शान्ति, स्थायित्व र सुशासनको प्रत्याभूति दिन बैठक निर्णायक हुने सरकारी अधिकारीहरूको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully