धनकुटा — अत्यधिक वर्षासँगै पहिरो जाँदा आइतबारदेखि अवरुद्ध मूलघाट-छिम्सुवा सडक आज मध्याह्नदेखि सञ्चालनमा आएको छ।
धनकुटा-९ स्थित उक्त स्थानमा बिहानैदेखि एक्स्काभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । वर्षा राेकिएकाेले सडक खुलाउने काम सहज भएको मूलघाटस्थित सशस्त्र प्रहरीका निरीक्षक टेकबहादुर कटुवालले जानकारी दिए ।
धनकुटा नगरपालिका-९ देखि भोजपुर र उदयपुर जोड्ने त्रिवेणीसम्मको उक्त खण्ड बन्द भएपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको थियाे । सिरसिरे भन्ने स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेको थियाे । सडक खुलेपछ छिम्सुवा, साप्तिङटार, गोपालपुर, घंगरू, त्रिवेणी हुँदै भोजपुर र उदयपुरतर्फ सवारी तथा ढुवानीका साधन सञ्चालनमा आएको जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताए ।
