धनकुटामा बाढीले ट्र्याक्टर बगायो, चार वटा टिपर पहिरोमा फसे

वैशाख २८, २०८२

रमेशचन्द्र अधिकारी

Tractor swept away by floods in Dhankuta, four tippers caught in landslides

धनकुटा — अत्यधिक वर्षासँगै आएको बाढीले धनकुटा नगरपालिका-९ मूलघाट नजिक आइतबार राति एउटा ट्र्याक्टर बगाएको छ । बिश्रान्ती खहरे खोला किनारमा रोकीराखिएको को २ त ३९४२ नम्बरको ट्र्याक्टर राति बाढीले बगाएको प्रहरी जनाएको छ । ट्र्याक्टर करिब ५० मिटर बगाएको छ । 

मूलघाट प्रहरी चौकीबाट खटिएको टोलीले जेसीबीको मद्दतले राति नै बाढीबाट झिकेर सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

यसैगरी, धनकुटा-९ छिम्छुवास्थित मूलघाट-त्रिवेणी भित्री सडकखण्डमा वर्षासँगै आएको पहिरोका कारण ढुवानी तथा यातायातका साधन अवरुद्ध भएको छ । उक्त स्थानमा चार वटा टिपर पहिरोमा फसेको प्रहरीले जनाएको छ । 

सोमबार बिहानदेखि पहिरो पन्छाउने काम सुरु गरिने प्रहरी प्रवक्ता खनालले बताए । उक्त सडकको अन्य २ स्थानमा समेत लेदो सहितको पहिरो खसेको उनले जनाए ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully