वर्षासँगै पहिरो जाँदा मूलघाट-छिम्सुवा सडक अवरुद्ध 

वैशाख २८, २०८२

रमेशचन्द्र अधिकारी

Moolghat-Chimsuwa road blocked due to landslides along with rain

धनकुटा — अत्यधिक वर्षासँगैको पहिरोले आइतबार साँझदेखि धनकुटाको मूलघाट–छिम्सुवा सडक खण्ड अवरुद्ध भएको छ । धनकुटा नगरपालिका-९ देखि भोजपुर र उदयपुर जिल्ला त्रिवेणीसम्म जोड्ने उक्त सडक बन्द भएपछि त्यस क्षेत्रका जनजीवन प्रभावित बनेको छ । 

सिरसिरेमा पहिरो खसेर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । बेलुकी ६ बजेदेखि सडकमा साना ठूला सवारी ठप्प भएको छ । जसकारण छिम्सुवा, साप्तिङटार, गोपालपुर, घंगरू, त्रिवेणी हुँदै भोजपुर र उदयपुर आतेजाते गर्ने यात्रु प्रभावित छन् । 

सडकमा थुप्रिएको माटो पन्छाउन एक्स्काभेटर प्रयोग गर्न वर्षा र अत्यधिक हिलोका कारण कठिन भएको प्रहरीले जनाएको छ । सोमबार बिहानैदेखि सडक खुलाउने काम गरिने जिल्ला ट्राफिक प्रहरी प्रमुख मनोज खड्गाले जानकारी दिए । 

उक्त सडक खण्डमा वैकल्पिक सडकसमेत नभएपछि समस्यामा परेको स्थानीयको गुनासो छ । सहिदभूमिबाट मूलघाटसम्म चुनढुंगासमेत ओसारपसार गरिंदा पछिल्लो समय सडकको दुरावस्था बनेको छ ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully