पाँचथर — खोलामा माछा मार्न करेन्ट लगाँउदा २० वर्षीय युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मिक्लाजुङ गाउँपालिका-६ लुमाङदिन निवासी दिलकुमार थेगिमका छोरा इसारा थेगिम रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
थेगिमको मिक्लाजुङ-६ को नावा खोलामा जेनेरेटर चलाएर खोला भित्र लगाएको करेन्ट शरिरमा लाग्दा आइतबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए ।
तामाङका अनुसार घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी खान्द्रोङबाट खटेको प्रहरी टोलीले थेगिमको शव खोलाबाट झिकेको थियो । थेगिमको शव आइतबार नै पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र रवि ल्याइएको छ ।
