२२ वर्ष कतारमा श्रम, ५६ वर्षमा १२ को परीक्षा

२०४७ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेका उनी घरको आर्थिक अवस्थाकै कारण बिदेसिनुपरेको थियो

वैशाख २७, २०८२

राकेश नेपाली

Labor in Qatar for 22 years, 12 exams in 56 years

उदयपुर — शिक्षक सेवा आयोगमा नाम निकाल्न नसकेपछि २०५६ सालमा काजी राई वैदेशिक रोजगारीका लागि खाडी मुलुक हान्निए । कतारको तातोमा एउटै कम्पनीमा २२ वर्ष काम गरेर २०७८ सालमा नेपाल फर्किएका उनलाई एउटै कुराले सताइरहन्थ्यो, त्यो हो औपचारिक शिक्षा । किनकि आयोगको परीक्षामा लिखित उत्तीर्ण हुने गरे पनि उनी मौखिममा पटकपटक असफल हुन्थे । 

‘कतारमा हुँदा भाषा र त्यहाँको कानुनका कारण धेरै समस्या भोगेँ,’ ५६ वर्षीय उनी भन्छन्, ‘छुट्टीमा बेलाबेला नेपाल आउँदा अब यतै बसेर पढौं कि जस्तो लाग्थ्यो, तर घरको आर्थिक अवस्थाको कारण बिदेसिनैपर्ने बाध्यता हुन्थ्यो ।

२०२६ सालमा खोटाङको निगालबासमा जन्मिएका उनले २०४७ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेका हुन् । गाउँमा उच्च शिक्षा अध्ययन गर्ने क्याम्पस थिएन । घरको आर्थिक अवस्था कमजोर भएका कारण सहरमा पढ्ने अवसर पनि उनले पाएनन् । आफुले चाहेजति औपचारिक शिक्षा लिन नपाए पनि छोराहरुको शैक्षिक भविष्य उज्जवल बनाउनकै लागि २०६० सालमा बसाइँ सरेर उनी परिवारसहित चौदण्डीगढी नगरपालिका–७ बेल्टार आए ।

वैदेशिक रोजगारीमा रहँदा त्यहाँको कानुन र भाषा नबुझ्दा आफूले खेप्नुपरेको पीडा उनी सम्झन चाहँदैनन् । ‘समयमै निरन्तर उच्च शिक्षा लिने अवसर पाएको भए देशमै बसेर केही गर्ने थिएँ होला, सरकारी सेवामा प्रवेश गरेर जनताको सेवा गरिरहेको हुन्थेँ होला, तर भनेजस्तो भएन, पढ्न पाइएन,’ उनले विगत सम्झिए । 

उनले अस्थायी शिक्षकका रुपमा केही समय काम पनि गरे तर आयोग पास गरेरै स्थायी शिक्षक हुने उनको लक्ष्य थियो । 'तर पढाइले साथ दिएन, आयोग पास हुन सकिनँ,' भन्छन्, 'बाध्य भएर विदेश जानुपरेको हो ।’

लामो समय वैदेशिक रोजगारीमा जवानी बिताएका उनी जब नेपाल फर्किए, चौदण्डीगढी नगरपालिका–६ मा रहेको कालिका माध्यमिक विद्यालयमा भर्ना भए । देशको संविधान र नियम, कानुन बुझ्नकै लागि परिवारसँग सल्लाह गरेर कानुन संकायमा भर्ना भएको उनी सुनाउँछन् । 

अहिले कक्षा १२ को परीक्षा दिइरहेका उनी पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरणका पात्र बनेका छन् । ‘अब त बुढेसकाल लाग्यो, तर पनि उच्च शिक्षा पास गरेरै उदाहरणीय बन्नु छ,' उनले भने, 'त्यसैको हुटहुटीले कक्षा १२ को परीक्षा दिएको हुँ ।’

Labor in Qatar for 22 years, 12 exams in 56 years

दृढ इच्छाशक्तिले उनलाई औपचारिक शिक्षा लिन उमेरले छेकेन । नाति/नातिना खेलाउने बेला भए पनि शिक्षाप्रतिको लगावले उनी अहिले चौदण्डीगढी नगरपालिका–९ स्थित थानपोखरी मावि ज्यामिरेमा कक्षा १२ को परीक्षा दिँदैछन् । २०४८ सालमा बिहे गरेका उनका दुई छोरा छन् ।

उनी कृषि पेसासँगै टेम्पो पनि चलाउँछन् । करेसाबारीमा लगाइएका विभिन्न खालका तरकारी बेल्टार बजारमा खपत गर्छन् । 

पढाइप्रति उनको लगाव र परीक्षामा ऊर्जा देखेर आफू अचम्मित भएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश खड्काले बताए । ‘५६ वर्षको उमेरमा पनि शिक्षाप्रति यत्तिको रुचि र जाँगर देखेर छक्क परेको छु, उहाँ सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ,’ केन्द्राध्यक्ष खड्काले भने । 

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully