आगलागीमा परी एक घर जलेर नष्ट, ४० लाख बढीको क्षति

वैशाख २४, २०८२

राकेश नेपाली

A house was destroyed in the fire, the damage is more than 4 million

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियास्थित मुसहर्निया टोलमा विद्युत् सर्ट भइ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । 

मंगलबार बेलुका स्थानीय सोवित खत्रीको काठ र टिनको छानो भएको घरमा आगलागी हुँदा ४० लाखको क्षति भएको हो ।

आगलागीले खत्रीको घरमा रहेको अन्नपात, गरगहाना, भाडावर्तन लगायत जलेर अनुमानित ४० लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्सपेक्टर बबिन राईले बताए । 

घरको भान्साकोठामा विद्युत् सर्ट भइ आगलागी भएपछि ग्याास सिलिण्डर पड्किएर घरमा भएका गरगहाना, भाडावर्तन लगायतका सामान झिक्न नपाएको पीडित खत्रीले गुनासो गरे ।

A house was destroyed in the fire, the damage is more than 4 million

आगलागी सुरु भएको जानकारी आउनसाथ चौदण्डीगढी नगरपालिकाको बेल्टारमा रहेको दमकलसमेत त्रियुगा नदीको बाढीले हृयुमपाईप सहित सडक बगाएका कारण समयमै पुग्न नसक्दा ठूलो क्षति भएको चौदण्डीगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकाश राउतले बताए । 

त्रियुगा नदीमा आएको बेमौसमी बाढीका कारण हडिया बेल्टार सिधा आवतजावात रोकिएको छ । त्रियुगा नदीमाथि बनाइएको अस्थायी सडक भत्किएपछि नगरपालिकाको दमकल सप्तरीको फत्तेपुर हुँदै हडिया पुग्न समय लागेका कारण घर पूर्णः रुपमा नष्ट भएको उनले बताए ।

आगलागी भएको घरमा सोभित खत्री र उनका दाई मोहन खत्रीको गरी १० जनाको परिवार बस्दै आएको थियो ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully