पाँचथर — पाँचथरको तुम्वेवा गाउँपालिका-४ ओलनेका रणबहादुर सम्बाहाम्फेकी पत्नी सोमबारी लिम्बूलाई ७७ वर्षको उमेरमा नागरिकता र राष्ट्रिय परिचय पत्र दिइएको छ। यस्तै, रणबहादुरले ७७ वर्षको उमेरमा राष्ट्रिय परिचय पत्र पाएका छन्।
सम्बाहाम्फे दम्पतीलाई मंगलबार गाउँपालिका अध्यक्ष बाबुराम खड्कासँग घरैमा गएका जिल्ला प्रशासन कार्यालयका कर्मचारीले नागरिकता र राष्ट्रिय परिचय पत्र उपलब्ध गराएका हुन्।
कमजोर आर्थिक अवस्थाकी सोमबारी ७७ वर्षको उमेरसम्म नागरिकता नभएकै कारण वृद्वाभत्ता पाउनबाट बञ्चित थिइन्। ७९ वर्षीय रणबहादुरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहे पनि राष्ट्रिय परिचय पत्र नहुँदा बञ्चित हुन लागेको जानकारी पाए लगत्तै प्रमूख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालासँगको समन्वयमा घरैमा कर्मचारी खटाएर नागरिकता र राष्ट्रिय परिचय पत्र दिइएको अध्यक्ष खड्काले बताए ।
‘नागरिकका सुख दुःख बुझ्दै गाउँ घुम्ने क्रममा उनीहरुले नागरिकता र राष्ट्रिय परिचय पत्र प्राप्त गर्न नसकेको जानकारी पाएपछि प्रमूख जिल्ला अधिकारीसँग समन्वय गरेर उपलब्ध गराइएको हो,’ अध्यक्ष खड्काले भने ।
अभिलेखका आधारमा रणबहादुर २००३ सालमा जन्मेका हुन् भने उनकी पत्नी सोमबारी २००६ साल साउन २० गते जन्मेकी हुन्। सोमबारीलाई प्रमूख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले हस्ताक्षर गरेको नागरिकता दिइएको छ ।
नागरिक र राष्ट्रिय परिचय पत्र दिन जिल्ला प्रशासन कार्यालय पाँचथरबाट कर्मचारीद्वय लक्ष्मीप्रसाद बाँस्कोटा र भेषराज खत्री दम्पतीको तुम्वेवा पुगेका थिए । गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधि र कर्मचारी दम्पतीका घर पुग्दा ठुलो संख्यामा स्थानीय भेला भएका थिए । नागरिकता र राष्ट्रिय परिचय पत्र घरमै पुग्दा यी दम्पतीका आँखाबाट हर्षका आँशु झरेका थिए ।
‘वृद्वावस्थामा घरैमा नागरिकता ल्याइदिए हाम्रो लागि यो भन्दा ठूलो कुरा केही होइन, अब त २ जनाको भत्ताले आफैं पालिन सक्छौँ,’ सोमबारीले भनिन्। सम्बाहाम्फे दम्पतीका ५ जना सन्तान जन्मिए पनि हाल साथमा कोही नभएका कारण उनीहरूले राज्यबाट प्राप्त गर्ने आधारभुत सेवाबाट समेत बञ्चित भइरहेको अध्यक्ष खड्काको भनाइ छ ।
