केपिलासगढीमा ग्रामीण महिला नवउद्यम स्थापना तथा अनुदान कार्यक्रम

वैशाख २३, २०८२

डम्बरसिं राई

Rural Women Entrepreneurship Establishment and Subsidy Program in Kepilasgarhi

खोटाङ — केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नवउद्यम स्थापना तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाभित्रका गरिब र कम आयआर्जन भएकाहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार यस कार्यक्रमअन्तर्गत अनुदानका लागि उद्यमीहरू, केपिलासगढी गाउँपालिका र जी फाउन्डेशनबीच मंगलबार सम्झौता भएको छ । 

जी फाउण्डेसनको आर्थिक र प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । यसअन्तर्गत सुरुको चरणमा ११ जना महिला र ४ चना पुरुष गरी १५ जनालाई छनौट गरी उनीहरूको आयआर्जनमा वृद्धि गर्ने योजना बनाइएको जी फाउण्डेसनकी सूचना अधिकारी अभिनी दीक्षितले बताएकी छन् । छनौटमा परेका उद्यमीहरूले गाउँपालिकामा फर्मसमेत दर्ता गरेको दीक्षितले जनाएकी छन् ।

छनोटमा परेका उद्यमीहरूको मागको आधारमा व्यावसायिक योजनाअनुसार मूल पूँजीमा अपूग रकम अनुदान दिने दीक्षितले जनाएकी छन् । उक्त अनुदान तीन किस्तामा उपलब्ध गराइने छ । उक्त कार्यक्रमअन्तर्गत आगामी दुई वर्षभित्र अहिलेको तुलनामा कृषकको आयआर्जनमा तीन सय प्रतिशतले आय वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जी फाउण्डेसनका वरिष्ठ कार्यक्रम व्यवस्थापक श्याम नेपालले बताएका छन् । ‘आगामी दुई वर्षभित्र तीन सय प्रतिशतले आय वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन भएको छ,’ उनले भने, ‘यसका लागि जी फाउण्डेसनले प्राविधिक र आर्थिक सहयोग गरेको छ ।’ 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully