उदयपुरमा सवारी दुर्घटना : एकको मृत्यु, एकजना घाइते

वैशाख २२, २०८२

राकेश नेपाली

Road accident in Udaipur: One dead, one injured

उदयपुर — मदन भण्डारी राजमार्गस्थित उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वर्षेडाँडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सोमबार बेलुका खोटाङबाट जन्ती लिएर इटहरीतर्फ जाँदै गरेको को १ ख ४७२१ नम्बरको बसका यात्रु सडक पार गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ३ त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिँदा हलेसी तुवाचुङ नगरपालिका–४ की गीता परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी परियारलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले बताए । दुर्घटनामा परी इटहरी उपमहानगरपालिका-२० सुनसरीका २३ वर्षीय युजन राई घाइते भएका छन् ।

घाइते राईलाई नगर अस्पताल बेल्टारमा उपचार गरी थप उपचारका लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully