अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकले गाउँमै पाए राष्ट्रिय परिचय पत्र

वैशाख २२, २०८२

डम्बरसिं राई

People with disabilities and senior citizens received national identity cards in the village

खोटाङ — केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँमै राष्ट्रिय परिचयपत्र पाएका छन् ।

राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीन दिने शिविरमा अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक गरी एक सय २४ जनाले सेवा लिएका हुन् । 

गाउँपालिका अध्यक्ष समीर राईका अनुसार अशक्त अवस्थाका सबै लाभग्राहीलाई समेट्नेगरी गाउँपालिकाले निर्धारण गरेको फरक–फरक तीन वटा केन्द्रमा एक/एक दिन राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको थियो । 

गाउँपालिकाको पहलमा पहिलो पटक आफ्नै गाउँमा आयोजित शिविरमार्फत् राष्ट्रिय परिचयपत्र बनाएको राईले बताए । सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले जिल्ला प्रशासन कार्यालय खोटाङसँगको सहकार्यमा शिविर सञ्चालन गरिएको राईले बताए । 

बिहीबार बाक्सिला, सप्तेश्वर र बास्पानीका लाभग्राहीलाई लक्षित गरेर बाक्सिला वडा कार्यालयमा आयोजना गरिएको शिविरमा ४८ जनाले सेवा लिएका छन् । त्यस दिन वडा नं. ३ बास्पानीका १४, वडा नं. ४ बाक्सिलाका २० र वडा नं. ५ सप्तेश्वरका १४ जनाले सेवा लिएका हुन् ।

शुक्रबार फेदी र खार्ताम्छाका लाभग्राहीका लागि वडा कार्यालय खार्ताम्छामा आयोजित शिविरमा २१ जनाले सेवा लिएका छन् । वडा नं. १ फेदीका ९ र वडा नं. २ खार्ताम्छाका ११ जनाले सेवा लिएका हुन् । तेस्रो दिन शनिबार दिप्सुङ र सुङ्देलका लाभग्राहीका लागि वडा कार्यालय सुङ्देलमा आयोजित शिविरमा सबैभन्दा बढी ५६  र वडा नं. ६ दिप्सुङका १२ र वडा नं. ७ सुङ्देलका ४४ सेवा लिएका हुन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully