धनकुटामा बस दुर्घटना : एकको मृत्यु, १३ जना घाइते

वैशाख २२, २०८२

रमेशचन्द्र अधिकारी

Bus accident in Dhankuta: One dead, 13 injured

धनकुटा — धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रु बाहक बस सोमबार बिहान सवा १० बजे धनकुटा–६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

धनकुटा बजारबाट करिब ३ किलोमीटर नजिक सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

Bus accident in Dhankuta: One dead, 13 injured

मृत्यु हुनेमा धनकुटा नगरपालिक–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेको प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनको धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ११ः ४५ बजे मृत्यु भएको हो । 

अन्य घाइतेहरुमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक धरान उपमहानगरपालिका–१३ का रुद्र तामाङ, भोजपुरको पौवादुम्बा–३ का गंगाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ का सविना बराइली, देवी विक, धनककुटाको साँगुरीगढी–६ हंशबहादुर राई रहेका छन् ।

यस्तै, भोजपुरको षडानन्द नगरपालिका–११ की पूर्णमाया तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका–४ आयुष राई, धनकुटा नगरपालिका–६ का धनकुमार विक, भोजपुर–११ का लिलाबहादुर श्रेष्ठ र धनकुटाको साँगुरीगढी–६ का दीर्घमाया राई रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully