प्रहरी निरीक्षकमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालय कोशीले छानबिन समिति गठन गरेको हो
विराटनगर — ब्याची दुई प्रहरी निरीक्षकलाई मादक पदार्थ सेवन गरी कुटपिट गरेको आरोप लागेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी निरीक्षक राजन लम्सालमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालय कोशीले छानबिन समिति गठन गरेको छ ।
कुटपिट घटना सतहमा आएपछि प्रदेश प्रहरी कार्यालय कोशीले छानबिन थालेको हो । कार्यालयले डीएसपी डम्बर पुरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जनाए । उनले सामाजिक सञ्जालमा सार्वजनिक भएजस्तो घटना नभएको दाबी गरे । ‘समितिले छानबिन गर्दै छ, वास्तविकता चाँडै बाहिर आउने नै छ,’ प्रवक्ता दाहालले भने ।
लम्सालले प्रहरी निरीक्षकद्धय सरोज खनाल र सन्तोष खड्कालाई कुटपिट गरेको आरोप लागेको थियो ।
लम्सालले भोजमा आफू नगएको विषयलाई कपोलकल्पित ढंगले ‘भाइरल’ गर्न खोजिएको बताए । 'वैशाख ११ गते कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीको बिदाइ भोजमा बिरामी भएर म गएको थिइनँ,' उनले भने, ‘मेरो पछाडि कोही मान्छे लागेको छ ।’
रेस्टुरेन्टबाट मातेर आएका लम्सालले राति खड्का र खनाललाई निवासमा बोलाएर सुरुमा ‘डीआईजीको चम्चा’ भन्दै गालीगलौज गरेको र विवाद बढ्दै गएपछि उनी जाइलागेको भन्ने कुराको उनले खण्डन गरे । ‘बिरामी भएर सुतेको मान्छे कहाँ रेस्टुरेन्ट जानु ? कुन रेस्टुरेन्ट गएँ, कति बजेसम्म रक्सी पिएर बसेँ, त्यो पनि भन्दिनुपर्यो नि,’ उनले भने ।
