लागुपदार्थ बरामद गर्न हवाई फायर

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

Aerial fire to seize drugs

विराटनगर — झापामा लागुपदार्थ ओसारपसारमा संलग्न गिरोह सक्रिय हुँदै गएका छन् । सोमबार बिहान प्रहरीले कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीमा हवाई फायर गर्दै ठूलो मात्रामा लागुपदार्थ बरामद गरेको छ ।

भारतबाट लागुपदार्थ भित्र्याइँदै छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ८:४० बजे शरणामतीबाट सुरुंगातर्फ आउँदै गरेको बीआर ३७टी ९१९८ नम्बरको मोटरसाइकल जाँच गर्न रोकेको थियो । तर,  प्रहरी देख्नेबित्तिकै सवारी चालक मोटरसाइकल र झोला छाडेर भागेका थिए ।

‘फरार व्यक्ति मकैबारीतिर भागेपछि नियन्त्रणका लागि राइफलबाट दुई राउन्ड हवाई फायर गरिएको थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले भने । 

घटनास्थलमा छोडिएको झोलाबाट खैरो हेरोइनजस्तो देखिने करिब २०० ग्राम लागुपदार्थ बरामद भएको छ । उक्त मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि पनि सोही क्षेत्रमा लागुपदार्थ नियन्त्रणको प्रयासमा प्रहरीले हवाई फायर गर्नुपरेको थियो । निरन्तर दोहोरिँदै आएका यस्ता घटना सीमावर्ती क्षेत्रमा लागुपदार्थको अवैध कारोबार अझै नियन्त्रणमा आउन नसकेको संकेत हो ।

फरार भारतीय मुलको व्यक्ति हुन सक्ने र खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully