गाँजा तस्करीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग

वैशाख २१, २०८२

अर्जुन सुवेदी

Ambulance Use of Indian Number Plates in Marijuana Smuggling

सुनसरी — पूर्वी नेपालका जिल्लाहरुबाट गाँजा तस्करीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स प्रयोग हुने गरेको पाइएको छ ।

शनिबार राति सुनसरीमा प्रहरीले १ सय ८० किलो गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएपछि गाँजा तस्करीमा तस्करले नयाँ–नयाँ शैली अपनाउन थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट १ सय ८० किलो लागुऔषध गाँजासहित एक भारतीय नम्बरको एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार राति करिब १० बजे लागुऔषध गाँजा बोकेर जाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले सो क्षेत्रको सम्पूर्ण सडक ब्लक गर्दै चेकजाँच गरेको थियो । 

जाँचका क्रममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सलाई रोकी खानतलासी गर्दा कालो प्लास्टिकभित्र सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ बोरा गरी जम्मा १ सय ८० केजी गाँजा फेला परेको हो । 

उक्त एम्बुलेन्स चालक सुनसरी बराहक्षेत्र नगरपालिका ४ का २५ वर्षीय श्रीराज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालकसहित बरामद लागुऔषध र एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए । 

यसअघि कारोबारीले नेपाली नम्बर प्लेटको एम्बुलेन्स तथा नक्कली सरकारी नम्बर प्लेटको गाडी, तेल बोक्ने ट्यांकरसमेत प्रयोग गरी गाँजा तस्करी गर्ने गरेका थिए ।

अर्जुन

Link copied successfully