खोटाङमा बसाइँ सर्नेको संख्या बढ्दै, रित्तिदै गाउँ

वैशाख २०, २०८२

डम्बरसिं राई

The number of people migrating to Khotang is increasing, the village is shrinking

खाेटाङ — खाेटाङ जिल्लामा बसाइँ सर्नेको संख्या बढ्दो छ । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीको खोजी लगायतका कारण बसाइँ सर्नेको संख्या बढेको हो ।

पछिल्लो दुई वर्षको अवधिमा जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका रामप्रसाद आचार्य, भक्तिविलाश आचार्य, बज्रबहादुर राई, टंक आचार्य, जगतबहादुर राउत, काजीमान मगर, दीब्यराज खड्का, टिकाबहादुर दुलाल, कर्णबहादुर विश्वकर्मा, खम्बसिं विश्वकर्मा, जीतबहादुर विश्वकर्मा, मणि राई, भुवनसिं विष्ट, भुवन राउत, हरि राउत लगायतले गाउँ छाडेर बसाइँ सरेका छन् ।

त्यस्तै गोपाल परियार, केशर परियार, सन्तोष परियार, कपुरमान परियार, सीता नेपाली, पदमबहादुर परियार, तिलकबहादुर परियार, कर्णबहादुर परियार, शम्भु परियार, पदमबहादुर तामाङ, साइला लामा लगायतले पनि बसाइँ सरेर गाउँ छाडेको स्थानीय वीरबल किरातीले बताएका छन् । 

अन्यले पनि बसाइँ सर्ने तयारी गरिरहेको किरातीको भनाइ छ । दिप्लुङकै कल्याण राउत पनि आगामी बैशाख २२ गते बसाइँ सरेर तराई झर्ने तयारी गरिरहेको किरातीले सुनाएका छन् । उनीहरू शिक्षा, स्वास्थ्य, खानेपानी, बाँदर आतंक लगायतका कारण बसाइँ सरेको किरातीले जनाएका छन् । 

कतिपय भने सम्पन्नताका कारण थप सुविधाका लागि शहर पस्ने गरेको किरातीले जनाएका छन् । उक्त पालिकामा पछिल्लो पाँच वर्षमा तीन सय ४३ घर परिवार बसाइँ सरेको गाउँपालिकाका पन्जीकरण शाखाका विवश राईले बताएका छन् ।

बाराहापोखरी गाउापालिकामा पनि बसाइ सर्नेको संख्या उस्तै छ । बाराहापोखरी गाउँपालिका–१ बाराहापोखरी निगालेका कुमार नेपाली, दुर्गा नेपाली, तिलकबहादुर नेपाली, लालबहादुर राउत, टिका राउत, गोपाल विष्ट लगायत बसाइँ सरेका छन् । उक्त पालिकामा बसाइँ सर्नेको संख्या धेरै भए पनि एकीन विवरण भने नभएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताएका छन् ।

खोटेहाङ गाउँपालिकामा पाँच वर्षको अवधिमा एक हजार ५६ घर परिवारका तीन हजार पाँच सय ५० जनाले बसाइँ सरेको सूचना अधिकारी रोशन पौडेलले बताएका छन् । त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पाँच वर्षको अवधिमा ६ सय ६१ परिवारका दुई हजार ९३ जनाले बसाइँ सरेको पन्जीकरण शाखाका यमन श्रेष्ठले बताएका छन् ।

त्यसैगरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा पाँच वर्षको अवधिमा एक हजार ८६ घर परिवार बसाइँ गएको पन्जीकरण शाखाकी श्रीदेवी राईले बताइन् । हलेसी तुवाचुङ नगरपालिकामा पाँच वर्षको अवधिमा पाँच सय २१ परिवारका एक हजार ६ सय ४४ जना बसाइँ सरेको पन्जीकरण शाखाकी नविना राईले बताएकी छन् । 

रावाबेसी गाउँपालिकामा पाँच वर्षको अवधिमा पाँच सय ४३ घर परिवारको एक हजार सात सय ४० जना बसाइँ सरेको पन्जीकरण शाखाका गिरीराज मगरले बताएका छन् । त्यस्तै ऐसेखलुखर्क गाउँपालिकामा पाँच वर्षको अवधिमा चार सय ५३ परिवारका एक हजार चार सय ९२ जनाले बसाइँ सरेको पन्जीकरण शाखाका निमराज तामाङले बताएमा छन् । 

केपिलासगढी गाउँपालिकामा पाँच वर्षको अवधिमा एक हजार ७० जना बसाइँ सरेको पन्जीकरण शाखाका प्रकाश रिमालले बताएका छन् । साकेला गाउँपालिकामा पनि बसाइँ सर्नेको संख्या ठूलै रहेको गाउँपालिकाले जनाएको छ ।

जिल्लामा बर्सेनि बसाइँ सर्नेको संख्या बढ्दै जाँदा यसको न्यूनीकरण गर्न स्थानीय तह, प्रदेश र संघीय सरकार गरी सिंगो राज्य नै लाग्नुपर्ने जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

‘बर्सेनि बसाइँ सरेर गाउँ रित्तो हुँदैछ,’ राईले भने, ‘स्थानीय तहले मात्र यसको न्यूनीकरण गर्न सक्दैन, प्रदेश र संघीय सरकार पनि लाग्नु पर्ने हुन्छ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully