कृषिका आठ परियोजनामा ३ अर्ब, ऊर्जामा तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोरमैला व्यवस्थापनको ६० करोडको परियोजनामा एमओयू
विराटनगर — औद्योगिक नगरी विराटनगरमा सम्पन्न प्रथम कोशी लगानी सम्मेलनले कोशीको समग्र आर्थिक विकासका लागि ऐतिहासिक खाका कोरेको छ । सम्मेलनबाट १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँका ४६ वटा परियोजनामा लगानी प्रतिबद्धता आएको छ ।
कृषिका आठ परियोजनामा ३ अर्ब, ऊर्जामा तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनका १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोरमैला व्यवस्थापनको ६० करोडको परियोजनामा एमओयू गरिएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ । निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनाको एमओयू भएका हुन् । प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ परियोजना सोकेसिङ गरेको थियो । सोकेसिङ परियोजनाको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोड थियो ।
कृषि, पर्यटन, ऊर्जा, स्वास्थ्य, यातायात, होटल तथा आवास, प्रविधि र वातावरण संरक्षणका विविध क्षेत्र समेटिएका यी परियोजनाले पूर्वी नेपालको सम्भावनालाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा सहभागी परियोजनामध्ये धेरैजसो कृषि र एग्रो–प्रोसेसिङ क्षेत्रमा केन्द्रित छन् । देउमाई कफी फार्मिङ प्रोजेक्ट (२२ करोड, केपी सिटौला), १९ करोडको बेसार उद्योग (बराह क्षेत्र, केशव घिमिरे), ४५ करोडको ग्रिन यार्ड एग्रो फार्म (गिरिराज बस्नेत) र कुसुम दाहालको ८० करोडको एग्रो प्रोजेक्ट प्रमुख उदाहरण हुन् ।
छुर्पी प्रोजेक्ट (१८ करोड, नेत्रप्रसाद भण्डारी), किवी फार्मिङ र एग्रो टुरिजम (विष्णु अग्रवाल), एभोकाडो फार्मिङ (६४ करोड, जितेन्द्र भट्टराई), बायो फर्टिलाइजर उत्पादन तथा अनुसन्धान केन्द्र (६० करोड, प्रदीप घिमिरे) लगायतका परियोजनाले उच्च मूल्यका बाली र जैविक उत्पादनमा लगानीलाई प्राथमिकता दिएका छन् । सिमल तरुल प्रवर्द्धनका लागि मनीष सापकोटाको १ अर्ब लगानीको ‘कियन एग्रिकल्चर रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर’ले स्थानीय उत्पादनलाई वैज्ञानिक अनुसन्धानमा जोड दिएको छ । पूर्वी नेपालका पहाडी भूभागमा आकर्षक पर्यटन परियोजना प्रस्तावित भएका छन् । १६ अर्बको बराह क्षेत्र केबलकार (अरुण सुवेदी), १० अर्बको मुकुर्ची–
लिङ्चुङवुङ हलेसी केबलकार (पूजन चौधरी) र २५ अर्बको माउन्टेन पोडवे (वसन्त रिमाल) जस्ता महत्त्वाकांक्षी परियोजनाले दुर्गम पहाडलाई पर्यटनको केन्द्र बनाउने उद्देश्य राखेका छन् ।
३० करोडको भेडेटार मल्टिपर्पोज कम्प्लेक्स, ८० करोडको रसाताल, ४ अर्ब २८ करोडको सुनसरीको बर्जुताल प्रोजेक्ट, ३५ करोडको राजाताल, २३ करोडको राजारानी र १७ करोडको बुढीगंगा पार्कलगायत योजनाले पूर्वका प्राकृतिक स्रोत र सौन्दर्यको उपयोग गर्नेतर्फ गम्भीर प्रयास देखिएको छ । ४ अर्ब २८ करोड लगानी गर्ने लगानीकर्ता हुन् रोजिना राई प्रधान ।
सौर्य ऊर्जा, जलविद्युत्, हरित रसायन तथा प्रविधि क्षेत्रमा पनि उल्लेखनीय लगानी प्रतिबद्धता देखिएको छ । उदयपुरको ५ अर्ब ६० करोडको एग्रो बोटिक सोलार प्रोजेक्ट (राजेन्द्र श्रेष्ठ), १ अर्ब ४२ करोडको पाँचखपन हाइड्रोपावर (राजन निरौला), २६ अर्बको ग्रिन युरिया मेनुफेक्चरिङ प्रोजेक्ट (गलतबहादुर ढुंगाना) र ३२ अर्बको क्लिंकर म्यानुफ्याक्चरिङ प्लान्ट (सन्तोष नेउपाने) को लगानी टुंगो लागेको हो । चार अर्बको बायो इथानल प्रोडक्सन प्रोजेक्ट (उदयपुर र धनकुटा) र ३ अर्बको इलेक्ट्रिक भेहिकल एसेम्बल प्रोजेक्ट (टीकाराम पुरी) ले कोशीलाई हरित प्रविधिमा उकास्ने अपेक्षा गरिएको छ ।
२२ करोडको डिजिटल कोशी प्रोजेक्ट (नरेन्द्र पराजुली) र २५ करोड, डिजिटल डाटा सेन्टर (अर्जुन सन्जेल) जस्ता योजनाले डिजिटल पूर्वाधारमा आधार तयार पार्ने अपेक्षा गरिएको छ । २ अर्ब ४८ करोडको आरआर इन्टरनेसनल हस्पिटल (राजेन्द्र राउत) र २ अर्ब ३३ करोडको रोयलटन पाँचतारे होटल (प्रत्यूष राउत) र २ अर्ब
३० करोडको फाइभ स्टार होटल प्रोजेक्ट (विजय चौधरी) जस्ता परियोजनाले पूर्वमा गुणस्तरीय स्वास्थ्य र आतिथ्य सेवाको अपेक्षा बढाएका छन् ।
विराटनगरमा कृषि विकास बैंकको लगानीमा बन्ने ९५ करोडको फाइभ स्टार होटल एन्ड विराट प्रोजेक्टले बैंक–व्यवसाय सहकार्यलाई पनि उजागर गर्छ । ५० करोडको ओरवन सोलिड वेस्ट म्यानेजमेन्ट (प्रशान्त झा), १० करोडको वेस्ट म्यानेजमेन्ट सेन्टर (राजाराम शर्मा) तथा ६० करोडको बिग हाउजिङ एन्ड कन्स्ट्रक्सन प्रालि (रामकुमार काफ्ले) को योजना सहरको सफा र व्यवस्थित भविष्यको संकेत दिन्छ ।
विराटनगरमा सम्पन्न कोशी लगानी सम्मेलनले कोशी प्रदेशमा उत्पादन, रोजगारी र नवप्रवर्तनका सम्भावनालाई ठोस योजनामा ढालेको छ । कोदोको रक्सी (४० करोड, जनक राई) देखि सिमल तरुल अनुसन्धानसम्मका विविध परियोजनाले प्रदेशको आर्थिक विविधता झल्काएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनाए । यो लगानी सम्मेलनले प्रदेश सरकार, निजी क्षेत्र र विदेशी साझेदारबीचको सहकार्यलाई एकीकृत विकासको मोडमा पुर्याउने आशा गरिएको छ ।
‘अब चुनौती भनेको यी परियोजनालाई समयमै कार्यान्वयनमा ल्याउने, वातावरणीय र सामाजिक असर न्यूनीकरण गर्ने र स्थानीय समुदायलाई प्रत्यक्ष लाभ दिलाउनेतर्फ केन्द्रित हुनुपर्छ,’ लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले भने ।
