सशस्त्र प्रहरी परिवार महिला संघद्वारा विद्यार्थीलाई पोसाक वितरण

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Distribution of uniforms to students by Armed Police Family Women's Association

मोरङ — सशस्त्र प्रहरी महिला संघले आर्थिक अवस्था कमजोर रहेका मोरङको बेलबारीका सामुदायिक विद्यालयका विद्यार्थीलाई नि:शुल्क पोसाक वितरण गरेको छ ।

कोशी प्रदेश सशस्त्र प्रहरी महिला संघले शुक्रबार मोरङको बेलबारी नगरपालिका–२ स्थित सिंहदेवी आधारभूत विद्यालयमा अध्यनरत शिशु कक्षादेखि ५ सम्मका विद्यार्थीलाई ९० जोर पोसाक वितरण गरेको हो ।

कोशी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनु सुवेदी घिमिरेको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धवप्रसाद दंगाललाई पोसाक हस्तान्तरण गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

कार्यक्रममा नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष कृष्णबहादुर गुरुङ, प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ कंकालिनी गण मोरङका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश घिमिरे, सशस्त्र प्रहरी राजमार्ग सुरक्षा गुल्मका डीएसपी कमलबहादुर अधिकारीलगागात सुरक्षाअधिकारी, महिला संघका पदाधिकारी, जनप्रतिनिधि, शिक्षक र स्थानीय सहभागी थिए ।

पोसाक हस्तान्तरणपछि सशस्त्र प्रहरी परिवार महिला संघ कोशी प्रदेश अध्यक्ष घिमिरेले सशस्त्र प्रहरीले सामाजिक कार्यका लागि समुदायस्तरमा यसैगरी काम गर्दै आएको र समुदायलक्षित कार्यक्रमअन्तर्गत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि पोसाक दिन पाउनु खुसीको विषय भएको बताइन् ।

पोसाक हस्तान्तरणपछि विद्यालयका प्रधानाध्यापक दाहालले उक्त सामुदायिक विद्यालयमा अधिकांश आर्थिक अवस्था दयनीय भएका विपन्न र सीमान्तकृत विद्यार्थी अध्ययनरत रहेको र सशस्त्र प्रहरी परिवार महिला संघबाट भएको सहयोग महत्वपूर्ण रहेको बताए । यो सहयोगले आम नागरिक र देशको सीमा सुरक्षाका अलवा विपन्न र असहाय नागरिक तथा विभिन्न कल्याणकारी सेवामा पनि सशस्त्र प्रहरीको समर्पण भाव प्रकट भएको बताए ।

कान्तिपुर

Link copied successfully