उदयपुर — जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट गरेको छ । प्राय: दसैंतिहारका बेला मात्र अनुगमन गर्ने प्रशासनले पहिलोपटक फरक समयमा गरेको बजार अनुगमनमा म्याद गुज्रिएका अखाद्य बस्तु भेटिएको हो ।
उदयपुरको दोस्रो ठूलो व्यापारिक केन्द्र कटारीमा बुधबार गएिको बजार अनुगमनका क्रममा म्याद गुज्रेका मसला, सस, फेन्टा, मिरिन्डाजस्ता खाद्य तथा पेय पदार्थ नष्ट गरिएको हो ।
इलाका प्रशासन कार्यालय कटारीका अधिकृत डिल्ली मग्रातीको संयोजकत्वमा जिल्ला प्रसाशन कार्यालय, घरेलु तथा साना उद्योग, राष्ट्रिय अनुसन्धान, इलाका प्रहरी कार्यालय कटारी, सशस्त्र प्रहरी बेस क्याम्प बेलसोत, कटारी नगरपालिका, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिले बजार अनुगमन गरेका थिए ।
कटारी नगरपालिका–३ र ४ नम्बर बजार क्षेत्रमा गरिएको अनुगमका क्रममा म्याद गुज्रेका अखाद्य वस्तु बिक्री गर्ने ३ पसललाई करदाता सेवा कार्यालयमार्फत पहिलोपटक १२ हजार जरिवाना गरिएको अनुगमन टोलीका संयोजक मग्रातीले बताए ।
अबदेखि नियमित बजार अनुगमन गरिने बताउँदै अधिकृत मग्रातीले म्याद गुज्रेका तथा अखाद्य वस्तु बिक्री वितरण नगर्न व्यापारीहरुलाई आग्रह गरेका थिए । उनले म्याद र मूल्यसूची हेरेर मात्रै सामग्री खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरे । अनुगमनका क्रममा नगरपालिकामा व्यवसाय दर्ता भए नभएको, दर्ता नवीकरण गरे/नगरेको, मूल्यसूची राखे/नराखेको, आवश्यक कागजात भए/नभएको पनि निरीक्षण गरिएको थियो ।
उदयपुरको कटारी नगरपालिकासहित ताप्ली, लिम्चुङबुङ, उदयपुरगढी गाउापालिका, खोटाङ, ओखलढुंगा, सिन्धुली लगायतका जिल्लाका नागरिकले कटारी बजारबाट दैनिक उपभोग्य सामग्री खरिद गर्ने गर्छन् ।
