अन्तरजातीय विवाह गर्ने नौ जोडीलाई सम्मान

वैशाख १८, २०८२

डम्बरसिं राई

Honoring nine couples who got married in an interracial marriage

खोटाङ — खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा अन्तरजातीय विवाह गर्नेहरूलाई सम्मान गरिएको छ । मङ्गलबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गर्ने ९ जोडीलाई सम्मान गरिएको हो । 

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ गाउँपालिकाका सहसचिव उमेश विश्वकर्माका अनुसार कालुमान सार्की–अनु मगर, नैनबहादुर विश्वकर्मा–मिना तामाङ, खगेन्द्र विश्वकर्मा–मैया मगर, प्रकाश नेपाली–दीपा प्रधान, दीपेन्द्र नेपाली–सिर्जना फुयाँल, विपिन नेपाली–सविना राई, विजय विश्वकर्मा–ममता राई, विशाल राई–प्रीति विश्वकर्मा र युवन राई–रीता परियारको जोडीलाई सम्मान पत्र र यातायात खर्च बापत दुई हजार रुपैयाँका दरले नगद सहित सम्मान गरिएको हो ।


‘अन्तरजातीय विवाह गर्ने ९ जोडीलाई सम्मान गरिएको छ,’ विश्वकर्माले भने । सम्मानसहित जातीय छुवाछुत कसुर र सजाय ऐन २०६८ सम्बन्धी प्रशिक्षण समेत दिइएको आयोजकले जनाएको छ । लेखापढी तथा कानुन व्यवसायी मिलन चाहारले उक्त प्रशिक्षण दिएका हुन्।


खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रम वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राईको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष गोपाल परियारको अध्यक्षतामा भएको हो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully