करेन्ट लागेर चर्दै गरेका हलगोरु मरे

वैशाख १८, २०८२

रमेशचन्द्र अधिकारी

A grazing cow died due to electrocution

धनकुटा — विद्युत् प्राधिकरणको लापरबाहीले धनकुटा नगरपालिका-२ पञ्चकन्यामा करेन्ट लागेर एक हल गोरु मरेका छन् । कृष्ण भनिने सानबहादुर थापाका गोरु मरेका हुन् ।

वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङका अनुसार बिजुलीको पोल अड्याउने तारबाट करेन्ट लाग्दा चरिरहेका गोरु मंगलबार मरेका हुन् । घटनमा ६० हजार मूल्य बराबरको क्षति भएको तामाङले बताए । 

विद्युत् प्राधिकरण धनकुटाका प्रमुख रोशनकुमार सिंहले जीर्ण पोल हटाउन नसक्दा घटना भएको बताए । गोरुले पोल नजिक पुग्दा करेन्ट प्रवाह भएर घटना भएको उनको दाबी छ । तर, स्थानीयले चरिरहेका बेला एकैपटक दुवै गोरुलाई करेन्ट लागेर मरेको बताएका छन् । प्राधिकरणले प्रतिगोटा १५ हजारका दरले जम्मा ३० हजार रुपैयाँ क्षतिपूर्ति दिने कार्यालय प्रमुख सिंहले बताए । 

प्राधिकरणको लापरबाहीका कारण यसअघि पनि उक्त गाउँमा रणबहादुर मगरको गाईबाच्छा मरेका थिए । प्राधिकरणले १७ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको थियो । यस्तै, चार वर्षपहिले महालक्ष्मी नगरपालिका-४ चानुवास्थित सिंगो बस्तीमा विद्युत् हाइभोल्टेज प्रवाह हुँदा एकजनाको मृत्यु र १५ जना घाइते भएका थिए । घटनामा महालक्ष्मी-४ भुटडाँडाका ५३ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको थियो ।

पछिल्लो समय विद्युत् करेन्टका घटना बढ्दो रहेको प्रहरीले जनाएको छ । जिल्लामा ३ हजार १ सयभन्दा बढी जीर्ण काठका पोल रहेको प्राधिकरण स्रोतले जनाएको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully