राजेशको ‘मिक्टा’ले जित्यो चौंरी प्रतियोगिताको उपाधि

वैशाख १७, २०८२

आनन्द गौतम

Rajesh's 'Mikta' won the Chowri competition title

ताप्लेजुङ — सिरीजङ्गा गाउँपालिका–८ याम्फुदिनमा सम्पन्न चौंरी प्रतियोगितामा राजेश गुरुङको ‘मिक्टा’ले उपाधि जितेको छ । चौरी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा दावा शेर्पाको ‘पाँगे’ द्वितीय र मिलन अधिकारीको ‘ग्याङसा’ तृतीय भए ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्गाको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगिता अन्तर्गत चौंरी प्रतियोगिता पनि एउटा विधाको रुपमा रहेको थियो । प्रतियोगितामा १७ चौंरी पालक किसानले आफ्ना चौंरी प्रतिस्पर्धाका लागि चौंरी ल्याएका थिए । 

पर्यटन महोत्सवका संयोजक एवं गाउँपालिका उपाध्यक्ष चित्र माबोले चौंरीको रुप, रङ, उमेर, पोषण शरीरको मोटाइ, सिङ, पुच्छर, आनीबानी लगायतलाई हेरेर निर्णय गरेको बताए । चौंरीको प्रथम, द्वितीय, तृतीय छुट्याएपनि प्रोत्साहन रकम भने समान २८ हजार पाँच सय ८६ रुपैयाँका दरले दिएका माबोले बताए । बाहिरबाट लगेको गोठ लगायतलाई दृष्टिगत गरी समान पुरस्कार दिएको उल्लेख छ ।

घट्दो क्रममा रहेको चौंरी पेसालाई प्रवर्द्धन गर्नपनि प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगामले कृषकहरुलाई पुरस्कृत गरेका थिए ।

प्रतियोगिताको अवलोकनपछि मन्त्री हाङगामले चौंरी प्रवर्द्धनका लागि प्रदेश सरकारले उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता गर्ने जनाएका छन् । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully