धनकुटामा एक क्विन्टल २१ किलो गाँजा बरामद

वैशाख १७, २०८२

रमेशचन्द्र अधिकारी

One quintal of 21 kg ganja recovered in Dhankuta

धनकुटा — सशस्त्र प्रहरीले कोशी राजमार्गस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरना नजिकबाट कारमा राखेर लैजाँदै गरिएको अवस्थामा एक क्विन्टल २१ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारमा राखेर लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । मूलघाटस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेसमा खटिएको टोलीलाई देखेर भागेको उक्त कार सडक छेउको भित्तामा ठोक्किएको अवस्थामा फेला परेको उनले बताए । 

कार भागेको आधारमा शंका लागेर जाँच गर्ने क्रममा त्यसभित्र गाँजा फेला परेको जनाइएको छ । चालक भने गाडी छोडेर फरार रहेको छन् । उनको खोजी कार्य जारी राखिएको जनाइएको छ । यसैगरी बरामद गरिएको गाँजा सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाउने प्रहरी निरीक्षक बस्नेतले बताए । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully