ताप्लेजुङ — अपर तमोर जलविद्युत् आयोजनामा भएको अवरोधका विषयमा बुधबार (आज) छलफल हुने भएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जनप्रतिनिधि, सरोकार समिति, हाइड्रो पावर कम्पनी र आन्दोलनरत समूहबीच छलफल हुने बताएका हुन् ।
त्यसका लागि आफू मित्लुङ जाने उनले जानकारी दिए । छलफल अवरोध भएको स्थल मित्लुङमा गर्न लागिएको हो । छलफलमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, यससँग सम्बन्धित चारवटा वडाका वडाध्यक्ष लगायत अन्य सरोकारवालालाई बोलाइएको जनाइएको छ ।
कम्पनीविरुद्ध नाराबाजीसहित कालोझण्डा गाढेपछि बैशाख ३ गतेदेखि यहाँ सुरुङको काम हुन सकेको छैन । बिरबल लिङ्खिम संयोजक रहेको ‘अपर तमोर प्रभावित संघर्ष समिति’ को नाममा स्थानीयले समिति बनाएका छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत गत चैत ३१ गते सरकारलाई ज्ञापन पत्र पठाएका थिए । त्यसपछि निर्माणस्थलमा पुगेर नारा जुलुस गर्नुका साथै कालो झण्डा गाढेका छन् । आन्दोलनमा संघीय लिम्बूवान राष्ट्रिय मञ्च पनि थपिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाउँदै स्थानीय भूमिपुत्र लिम्बू आदिवासी लगायत २०६२ सालदेखि आन्दोलित समूहसँग वार्ता गर्नुपर्ने उल्लेख छ ।
अदिप लिम्बू तवेवुङ र सेमी लिम्बू याक्थुम्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीयसँग परामर्स नगरी काम बढाइएको, लिम्बूहरुको मुन्धुमीस्थल नष्ट गर्न लागिएको जस्ता आरोप लगाएका छन् ।
पुष्पज्योति ढुंगानाले नेतृत्व गरेको तमोर इनर्जी आयोजनाले २ सय ८५ मेगावाटको विद्युत् उत्पादन प्रक्रिया बढाएको छ । यो निजी कम्पनीले उत्पादन गर्न लागेको देशकै ठूलो आयोजना पनि हो ।
