ताप्लेजुङ — विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको दक्षिणी आधार शिविरसम्म साइक्लिङ गरिएको छ । धरान माउन्टेन बाइक नेटर्वकका सञ्चालक अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाको टोली साइक्लिङ गर्दै ओक्ताङ आधार शिविरसम्म पुगेका हुन् ।
सिरिजङगा गाउँपालिका–८ याम्फुदिनको नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङक सम्मको पैदलमार्गमा साइक्लिङ गरिएको गाउँपालिकाका उपाध्यक्ष चित्र मावोले जानकारी दिए । यसले यो क्षेत्र साइक्लिङका लागि उपयुक्त छ भन्ने सन्देश दिएको मावोले बताए । यो ४८ सय मिटर उचाइमा रहेको छ ।
कञ्चनजंघा आधार शिविरसम्म पहिलो पटक साइक्लिङ भएको पनि मावोको दाबी छ । सिरिजङ्गा गाउँपालिकाले वैशाख १५ देखि १७ गतेसम्म कञ्चनजंघा पर्यटन महोत्सव २०८२ आयोजना गरेको थियो । यही अवसरमा धरानका चार जना राइडरले पालिकाको ८ नम्बर वडा कार्यालय याम्फुदिनको थुङगिमदेखि ओक्ताङसम्म साइक्लिङ गरेका हुन् । थोरै ठाउँमा मात्रै बोक्नुपरेको राइडरले बताएका छन् ।
ओक्ताङदेखि थुङगिमसम्मको क्षेत्रलाई हिमालय क्षेत्र नजिकबाट देखिने आधार शिविरको रुपमा लिइन्छ ।
आगामी दिनमा प्रतिस्पर्धात्मक साइक्लिङ गर्न गाउँपालिकालाई राइडरले दिएका छन् । यसको प्रचारले विदेशी राइडर आउने र पर्यटन प्रवर्द्धन हुने विश्वास गाउँपालिकाको छ ।
