होटल तोडफोडमा संलग्न पक्राउ

वैशाख १७, २०८२

रमेशचन्द्र अधिकारी

Arrested in hotel vandalism

धनकुटा — साँगुरीगढी गाउँपालिका-६ सिम्सुवास्थित होटल तोडफोडमा संम्लग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन्।

साँगुरीगढी गाउँपालिका-६, नमस्ते झरना बस्ने सुजन राईले संचालन गरेको होटलको झ्यालको सिसा तथा ढोका फुटाएर मंगलबार तोडफोड गरेका प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । श्रेष्ठ विरुद्ध अपराधिक उपद्रव कसूरमा अनुसन्धान भइरहेको जनाइएको छ। 

प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले विभिन्न समयमा उक्त होटलमा उधारोमा मादक पदार्थ लगायत सेवन गरेको र सो पैसा संचालकले मागेको रिसइवीका आधारमा तोडफोड गरेको खुलेको बताइएको छ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully