ताप्लेजुङ — स्थानीय तहले विद्यालय खोल्न दबाब दिइरहँदा र सरकार–शिक्षकबीच सहमतिको प्रयास भइरहँदा आठराई त्रिवेणी गाउँपालिकाका १६ जना शिक्षक मंगलबार राजधानी हिँडेका छन् ।
दुर्गा माध्यमिक विद्यालय फुलबारीका तीन जनाबाहेक कार्यालय सहयोगी, बालविकास र लेखा शाखासमेतका कर्मचारी र शिक्षक गाडी रिजर्भ गरेर हिँडेका हुन् ।
विद्यालयबाट हिँड्नुअघि १९ जनाले आन्दोलनमा सहभागी हुन जाने निर्णय गरेका थिए । बैशाख १५ गते विद्यालयका प्रधानाध्यापक कुलप्रसाद भट्टराईको नेतृत्वमा आन्दोलनमा जाने निर्णय गरेका थिए ।
शिक्षकहरु गाडी चढ्न लागेको र १५ गते गरेको निर्णय सामाजिक सञ्जालमा पोष्टसमेत गरेका छन् । उनीहरुले गरेको पोष्टमा गाउँपालिका अध्यक्षका स्वकीय सचिव लेखनाथ भट्टराईले ‘आज सहमति हुँदैछ, इलाम पुगेर फर्कने त होला नि!’ भनेर प्रतिक्रिया जनाएका छन् ।
गाउँपालिका सामाजिक विकास समितिका संयोजक एवं सोही वडा नम्बर २ का अध्यक्ष टेकिन्द्र सेन्दाङले ‘यो नौटङ्की किन हो सरहरु । सहमतिको अन्तिम प्रयास भएको बुझिन्छ । जाने भए बेलैमा गएको भए हुने थियो’ भन्ने प्रतिक्रिया दिएका छन् ।
सानो बच्चा, स्वास्थ्य अवस्था लगायतका कारण तीनजना जान नसकेको र बाँकी सबैजना आन्दोलनमा हिँडेको प्रधानाध्यापक कुलप्रसादले जानकारी दिए । आन्दोलन निर्णयमा नपुगेसम्म जस्तोसुकै परिस्थितिमा नफर्कने उनले टेलिफोनमा बताए । जिल्लाको सिदिङवा गाउँपालिकाले भने शिक्षकहरु विद्यालय फर्केर कक्षा सञ्चालन नगरे स्थानीय शिक्षा ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
गाउँपालिका अध्यक्ष मानवहादुर राईले विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका हुन् । फुङलिङ नगरपालिकाले पनि विद्यालय खोल्न अपील गरेको छ ।
