उदयपुरको तिल्केचौरलाई ‘नमुना दलित बस्ती’ बनाइने

वैशाख १५, २०८२

राकेश नेपाली

Tilkechaur in Udaipur will be made a 'model Dalit settlement'

उदयपुर — उदयपुरको ताप्ली गाउँपालिका–५ तिल्केचौरलाई ‘नमुना दलित बस्ती’ बनाइने भएको छ । आइतबार ताप्ली गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै ५४ घरपरिवार रहेको तिल्केचौर दलित बस्तीलाई ‘नमुना दलित बस्ती’ बनाउने घोषणा गरेको हो ।

गाउँपालिकाको केन्द्र नजिक रहे पनि आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रुपमा पछाडि रहेको बस्तीलाई स्तरोन्नति गर्दै नमुना बस्ती बनाइने गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माले बताए ।

तिल्केचौरका दलित समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थालाई सुधार गरी नमुना बस्ती बनाउन ११ वटा सूचक तयारी काम सुरु गरिएको उनको भनाइ छ । नमुना बस्ती निमार्णका लागि घरआँगन, शौचालय सरसफाइ, स्वच्छ खानेपानी, साबुनपानीको नियमित प्रयोग, धुवाँरहित तथा प्रविधिमुखी चुलोको प्रयोग, बालबालिकालाई बिद्यालयमा नियमितता तथा अभिभावकको प्रत्यक्ष रेखदेख, बाटोघाटो, घोरटोको नियमित मर्मतम्भार र सरसफाइ गरिने बताइएको छ ।

पोषणयुक्त खानपान र स्वस्थकर आहारव्याहार, पशुपालन, तरकारी खेती, मत्स्यपालन, फलफूल खेती तथा कृषिजन्य उत्पादनमा जोड दिइने पालिकाको लक्ष्य छ । सभ्य, सम्मुनत र सुन्दर दलित बस्ती निमार्णका लागि मदिराजन्य पदार्थको उत्पादन, बिक्रीवितरण र सेवनलाई निरुत्साहित गर्ने, व्यावसायिक सीप तथा प्रविधिको प्रयोग गर्दै आयआर्जमा केन्द्रित हुने, खाली र उजाड जमिनमा वृक्षारोपण गर्ने, दलित अधिकार र शसक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने योजना रेको अध्यक्ष विश्वकर्माले बताए ।

Tilkechaur in Udaipur will be made a 'model Dalit settlement'

अभियानको सुरुवाती चरणमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक) को आर्थिक तथा प्राविधिक सहयोगमा १४ लाखको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । जसबाट तिल्केचौर बस्तीमा स्वच्छ खानेपानी र करेसाबारीका लागि सिँचाइ सुविधा उपलब्ध हुने विश्वास लिइएको छ ।

उद्घाटनकै दिन सहयोगी हातहरुको समूह (सहास) नेपालको सहयोगमा ४८ घरपरिवारलाई धुवाँरहित आधुनिक चुलो वितरण गरिएको छ । परम्परागत चुलोको प्रयोगले महिलाको स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै प्रविधिमुखी धुवाँरहित चुलो वितरण गरिएको सहास नेपालका सहजकर्ता बेलु सुन्दासले बताए । 

गाउँपालिकाको ३ लाख आर्थिक सहयोगमा दलित बस्तीमा करेसाबारी निर्माण तथा तरकारी खेती पनि सुरु गरिएको छ । तिल्केचौरमा उत्पादन भएको तरकारी खेती गाउँपालिकाभित्रै उपभोग गरिने र बाँकी पालिकाको कृषि एम्बुलेन्समार्फत कटारीदेखि काठमाडौंसम्म पुर्‍याईने अध्यक्ष विश्वकर्माले बताए । दलित बस्तीलाई व्यवस्थित गर्दै होम स्टे सञ्चालन गर्ने योजना छ ।

नमुना दलित बस्ती बनाउन समुदायका सबै व्यक्ति कम्मर कसेर लागिपरेकाले अन्य संघसंस्था, प्रदेश तथा संघीय सरकार लगायतको आवश्यक रहेको तिल्केचौर नमुना बस्ती समितिका अध्यक्ष कुमार नेपालीले बताए । 

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully