पठनपाठन सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिको माग

वैशाख १५, २०८२

रमेशचन्द्र अधिकारी

The demand of the school management committee to conduct the teaching

धनकुटा — शैक्षिक आन्दोलनका कारण पठनपाठन ठप्प रहेको भन्दै धनकुटाको महालक्ष्मी नगरपालिकाभित्रका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले नियमित विद्यालय सञ्चालन गर्न माग गरेको छन् । 

१५ विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै मंगलबारदेखि विद्यालय खुलाउन माग गरेका हुन् । अभिभावकहरु आफ्ना बालबच्चाको पढाइप्रति अति नै चिन्तित र संवेदनशील रहेको जनाउँदै मंगलबारदेखि विद्यार्थी तथा शिक्षक उपस्थित भई शैक्षिक गतिविधि सञ्चालन गराई विद्यार्थीहरुको लेखपढ गर्ने अधिकार सुनिश्चित गर्न आह्वान गरिएको छ । 

चैत २० देखि काठमाडौं केन्द्रिय शिक्षक आन्दोलनका कारण शैक्षिक क्रियाकलाप ठप्प रहेको छ । आन्दोलनप्रति अभिभावकको ऐक्यबद्धता रहेको भन्दै समाधानको तत्काल निकास नदेखिएकाले पठनपाठन सञ्चालन गर्दै आन्दोलनका गतिविधि अघि बढाउन विज्ञप्तिमा उल्लेख गरिएको छ । नगरभित्रका प्रति विद्यालयका एक जनाका दरले मात्र शिक्षकहरु आन्दोलनमा सहभागी हुनसमेत भनिएको छ ।

लामो समयदेखि पठनपाठन ठप्प रहेकाले आफूहरु चिन्तित बनेको महालक्ष्मी नगरपालिका-७ स्थित जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज लुङ्गेलीले बताए । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully