तमोर कोरिडोरमा धमाधम कालोपत्र, बजेट अभावले काम प्रभावित

वैशाख १४, २०८२

लक्ष्मी गौतम

Black paper in Tamor Corridor, work affected by lack of budget

पाँचथर — तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटा–पाँचथर खण्ड कालोपत्र गर्ने कामले तीब्रता पाएको छ। संघीय सरकारले गौरवको आयोजनाका रुपमा अगाडि बढाएको उक्त सडक अन्तर्गत धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १० किलोमिटर सडक कालोपत्रे गर्न २०७९ साल माघमा सम्झौता भएको थियो ।

यो सडक तराईदेखि पहाड हुॅदै हिमाल जोड्ने द्रुत मार्गका रुपमा पनि स्थापित भएको छ । १ सय १० किलोमिटरमध्ये धनकुटाको मुलघाटदेखि पाँचथरको कुम्मायक (हाङठुवा) सम्म ६४ किलोमिटर कालोपत्र गर्न रौताहा क्षमादेवी जेभी र हाङ्ठुवादेखि गणेशचोकसम्मको ४६ किलोमिटरको काम गर्न एपेक्स निर्माण सेवाले सम्झौता गरेर काम गरिरहेका छन्।

पहिलो खण्डको ६४ मध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने थप २९ किलोमिटरमा कालोपत्रे गर्ने काम असार मसान्त अगावै सम्पन्न गर्ने लक्ष्य निर्माण पक्षको छ । यद्यपि सम्पन्न भएको कामको भुक्तानी रोकिँदा समस्या भइरहेको निर्माण पक्षको दाबी छ ।

तमोर करिडोर आयोजना प्रमुख प्रदिप निरौलाका अनुसार निर्माण व्यवसायीले काम सम्पन्न गरेर बिल पेश गरेको करिब २४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । आयोजना कार्यालयमा बजेट नआँउदा व्यवसायीलाई भुक्तानी गर्न नसकिएको उनले बताए ।

आयोजनाको ‘पहिलो खण्डको ६४ मध्ये ३५ किलोमिटर र दोस्रो खण्डको ४६ मध्ये २.६७ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । पहिलो खण्डको कालोपत्रे गर्ने जिम्मेवारी पाएको रौताहाको हालसम्म भौतिक प्रगति ६६ र वित्तीय प्रगति ६४ प्रतिशत भइसकेको तमोर करिडोर आयोजनाका सूचना अधिकारी जयराम अधिकारी बताँउछन्।

‘तत्काल ट्राफिक सिग्नल राख्ने र कलर गर्ने काम सुरु हुँदैछ । यही गतिमा काम अघि बढ्ने हो भने पहिलो खण्डको काम असार मसान्त अगावै सकिन्छ,’ अधिकारीले भने । दोस्रो खण्डमा कालोपत्रे गर्ने कामको जिम्मेवारी लिएको एपेक्स निर्माण सेवाको भने कामको गति सुस्त छ।

हाङ्ठुवादेखि हेवाखोला हुँदै गणेशचोकसम्म कालोपत्र गर्ने जिम्मेवारी पाएको उक्त कम्पनीको वित्तीय प्रगति ५० र भौतिक प्रगति ५३ प्रतिशत देखिएपनि कालोपत्रे गर्ने काम २.६७ प्रतिशत मात्रै सम्पन्न भएको छ । उक्त खण्डमा कालोपत्र गर्ने जिम्मेवारी पाएको एपेक्स कम्पनीका प्रवन्ध निर्देशक राजन बास्तोलाले कम्पनीका आन्तरिक कारण भनेजति काम गर्न नसकेको स्वीकारे ।

एपेक्सको जिम्मेवारीमा पर्ने कुम्मायक गाउँपालिकामा पर्ने हाङ्ठुवादेखि फिदिम-४ सालघारीसम्म काम अगाडि नबढ्दा धुलाम्य छ । उता हेवा खोला पारि भने कालोपत्रेका लागि पूर्वाधार तयार भइरहेको उनले बताए । 

धनकुटाको मुलघाटदेखि हाङ्ठुवासम्म ६४ किलोमिटर सडक कालोपत्रे गर्न रौतहा क्षमादेवी (जेभी) ले २ अर्ब ९९ करोडमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको हो । बाँकी ४६ किलोमिटरमा १ अर्ब ४४ करोड रुपैयाँमा सम्झौता गरेको एपेक्स निर्माण सेवासँग काम गरिरहेको छ ।

मुलघाट गणेशचोक १ सय १२ किलोमिटर कालोपत्र गर्न निर्माण व्यवसायीसँग सम्झौता भएको कुल लागत ४ अर्ब ४३ करोड हो । यो सडकमा आसफाल्ट प्रविधिबाट कालोपत्रे भइरहेको छ । तमोर करिडोर सुनसरीको चतरादेखि सुरु भएर ताप्लेजुङको टिपताला पुगेर टुंगिन्छ।

जुन बाटो भएर सुनसरीको धरान हुॅदै १ कोशी प्रदेशको राजधानी बिराटनगर पुग्न पाँचथरका नागरिकलाई ६ घण्टा र ताप्लेजुङका नागरिकलाई सदरमुकाम फुङलिङबाट ८ घण्टा मात्रै लाग्छ । मेची राजमार्ग भएर इलाम–झापा हुँदै विराटनगर वा धरान पुग्न पाँचथरबाट कम्तीमा ९ र ताप्लेजुङबाट १२ घण्टासम्म यात्रा गर्नुपर्छ।

तमोर नदीको किनारै किनार खनिएको यो सडकबाट पहाडदेखि तराई झर्न छिटो र सजिलो भएकाले यस क्षेत्रका नागरिकले ‘फास्ट ट्राक’ का रुपमा प्रयोग गर्दै आएका छन्। यो सडकको काम पूरा भएपछि पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाका नागरिकलाई सुविधा हुने छ । 

सरकारले यो सडकको ट्र्याक खोल्न ६ अर्ब १५ करोड १४ लाख रुपैयाँ खर्च गरेको थियो । कालोपत्र हुन लागेको १ सय १० किलोमिटर खण्डका विभिन्न सात स्थानमा मोटरेवल पुल निर्माण गर्न कार्यालयले यसअघि नै ठेक्का सम्झौता गरिसकेको  तमोर करिडोर सडक आयोजनाले जनाएको छ । 

ताप्लेजुङको ओलाङचुङगोलादेखि सुनसरीको चतरासम्म जोड्ने तमोर कोरिडोरको कूल लम्बाई २३८ किलोमिटर छ । यो सडक निर्माणको काम २०६५ सालमा निर्माण थालिएको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully