अवहेलना मुद्दापछि ज्वाइँले गरे जेठीसासूको हत्या

वैशाख १३, २०८२

लक्ष्मी गौतम

Son-in-law killed mother-in-law after contempt case

काठमाडौँ — इलामको माई नगरपालिका–४ सिञ्जालीटारका शान्तिराम दुलालले आफ्नै जेठीसासूलाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

४२ वर्षीय दुलालले ५२ वर्षीया जेठीसासु भूमिका चापागाईलाई शुक्रबार साँझ ७ बजे टाउकोमा खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी चापागाईको झापाको विर्तामोड स्थित वि.एण्ड.सि अस्पतालमा उपचारका क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शान्तिरामको उनकी पत्नीसँग इलाम अदालतमा माना चामल भराउने मुद्दा चलिरहेको छ । केही महिना अघि सोही मुद्दाको सुनुवाइका क्रममा अदालत परिसरमा भेला भएका ज्वाइँ र जेठीसासूबिच विवाद भएको स्थानीयले जनाएका छन् ।

विवादपछि भूमिकाले शान्तिरामविरुद्ध अवहेलना मुद्दासमेत दायर गरेकी थिइन् । सोही रिसीइबीमा शान्तिरामले भूमिकालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

शान्तिरामलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully