विराटनगर महानगरमा जनार्दन शर्मा समूहको प्यानलै विजयी

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

Janardan Sharma group won in Biratnagar metropolis

विराटनगर — माओवादी केन्द्र विराटनगर महानगरपालिका कमिटीमा उपमहासचिव जनार्दन शर्मा निकट समूहले चुनावी मैदानमा चमत्कारिक जित हासिल गरेको छ । संस्थापन पक्षले चुनाव प्रक्रियालाई रोक्न बन्दसत्र लम्ब्याउने रणनीति अपनाए पनि जनार्दन समूहको संगठित तयारी र रणनीतिक परिचालनले अन्ततः परिणाम आफ्नो पक्षमा पार्न सफल भयो ।

महानगर अधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहालले गुटबन्दी नगरी सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, आन्तरिक प्रतिस्पर्धा नियन्त्रण बाहिर जाँदा निर्वाचन अपरिहार्य बनेको हो ।

शनिबार सम्पन्न मतदानमा ८१ सदस्यीय महानगर कमिटीबाट जनार्दन समूहका दिनेश राजवंशी देवले अध्यक्षमा ४६ मत ल्याएर स्पष्ट बहुमतसहित विजयी भए । दाहाल पक्षकी उम्मेदवार नमिता न्यौपाने ३५ मतमै सीमित भइन् । कमिटीको उपाध्यक्षमा सनोजकुमार यादव, धर्मलाल माझी र चन्द्रबहादुर वन बिजयी भए । सचिवमा सोनु केवट तथा सहसचिवमा दिनेशकुमार यादव विजयी भए ।

जनार्दन समूहको नेतृत्व शिवकुमार मण्डलले गरेका हुन् । दाहाल पक्षबाट सांसद अमनलाल मोदी, जीवन आचार्य, कुलप्रसाद साम्बालगायत नेताले चुनावी तयारी र परिचालनमा सक्रिय भूमिका खेलेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully