खोटाङ — पहिरोले घर पुरेपछि बिचल्लीमा परेका केपिलासगढी गाउँपालिका–७ सुङ्देलका क्षितिज राईलाई घर उपलब्ध गराइएको छ । गत वर्षको बर्खामा बाढीले पहिरोले घर पुरेपछि बिचल्लीमा परेका उनलाई स्थानीयको पहलमा चन्दा संकलन गरेर निर्माण गरिएको घर शुक्रबार हस्तान्तरण गरिएको हो ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईका अनुसार १३ आना जग्गासहित ढुंगा–माटो–जस्तापाताले छाएको घर उपलब्ध गराएका हुन् ।
उक्त घर जग्गाका लागि करिब ९ लाख खर्च भएको छ । यसमध्ये घर निर्माणका लागि गाउँपालिकाले डेढ लाख रूपैयाँ उपलब्ध गराएको राईले सुनाए । यसबाहेक राईको परिवारलाई खाने, पढ्नका लागि स्टेसनरी र पोसाक गाउँपालिकाले उपलब्ध गराउँदै आएको राईले जनाए ।
राईको परिवारमा आमा, दुई बहिनी र एक भाइ गरी पाँच जनाको परिवार छ । उनीहरूमध्ये ४५ वर्षीया आमा शारदा शारीरिक रूपमा अपांग छन् भने ठूली बहिनी दीपा राई स्थानीय सूर्य माविमा कक्षा–७, कान्छी बहिनी निशा कक्षा–५ र कान्छा भाइ मुस्कान कक्षा–३ मा र क्षितिज कक्षा १० मा अध्ययनरत छन् ।
पहिरोपीडित छितिजको परिवारका लागि घर निर्माण गर्न कोयी राई समाज खोटाङको संयोजनमा चन्दा संकलन अभियान सुरु गरिएको थियो । पहिरोले घर पुरेपछि घरविहीन भएका राईका परिवार छिमेकीको घरमा बस्दै आएका थिए ।
