आन्दोलनबाट फर्किँदै गरेका शिक्षक चढेको बस झापामा पल्टिँदा २१ जना घाइते

वैशाख १३, २०८२

कान्तिपुर संवाददाता

21 injured when the bus carrying teachers returning from the protest overturned in Jhapa

विराटनगर — आन्दोलनबाट घर फर्किइरहेका शिक्षक चढेको बस शनिबार बिहान झापाको शिवसताक्षी नगरपालिका-९ स्थित दुधे मिलन चौकमा पल्टिँदा २१ जना घाइते भएका छन् । तीमध्ये १३ जना शिक्षक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनाका सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको रात्रिबस बिहान करिब साढे ५ बजेतिर पूर्व-पश्चिम राजमार्गमा अनियन्त्रित भएर पल्टिएको थियो । घाइते भएकाहरूलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार बिएण्डसी अस्पतालमा ९ जना र बिर्तासिटी अस्पतालमा १२ जना घाइतेको उपचार भइरहेको छ । अधिकांश घाइतेहरूलाई टाउको र हात-खुट्टामा चोटपटक लागेको छ ।

बसका चालक ३८ वर्षीय महेन्द्र कन्दङवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कान्तिपुर

Link copied successfully