पाथीभरा जीप दुर्घटना छानबिन गर्न चार सदस्यीय समिति गठन

वैशाख १२, २०८२

आनन्द गौतम

A four-member committee formed to investigate the Pathibhara jeep accident

ताप्लेजुङ — सोमबार पाथीभरा क्षेत्रमा भएको सवारी दुर्घटनाको छानबिनका लागि विद्युत् विकास विभागले समिति गठन गरेको छ ।

विभागका सिनियर इञ्जिनियर नूतन शर्माको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको विभागका प्रवक्ता सन्दिप देवले जानकारी दिए । देवका अनुसार विभागकै शालिकराम भण्डारी र नारायण श्रेष्ठ रहेका छन् भने पुल्चोक इञ्जिनियरिङ कलेजका एक जना प्रोफेसरलाई समितिको सदस्यमा राखिएको छ । 

आफूहरुले चाँडै घटनास्थलमा पुगेर अध्ययन गर्ने र विभागमा प्रतिवेदन बुझाउने संयोजक शर्माले जानकारी दिए । ‘घटना के कसरी भएको हो, तार कसरी लत्रियो लगायतका विषयमा अध्ययन गर्छौं,’ उनले भने, ‘भएका कमजोरी र यस्ता घटना हुन नदिन आगामी दिनमा अपनाउनुपर्ने प्रक्रियाका विषयमा सुझाव दिन्छौं ।’ उनले प्रतिवेदन बुझाउने समयको निर्धारण नभए पनि चाँडै काम गर्ने बताए । ‘हामी चाँडै काम सुरु गर्छौं र सक्छौं पनि, त्यसो भए अरु काम गर्न पाइन्छ,’ शर्माले भने । 

पोलबाट लत्रिएको तारले करेन्ट लागेर सदरमुकाम फुङलिङबाट काफ्लेपाटी जाँदै गरेको जीप जलेको थियो । जीपमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक जनाको अहिले पनि काठमाडौंमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा झापा भद्रपुरका विनोद पौडेल, सरिता पौडेल र उनीहरुकी नातिनी ललितपुर निवासी आध्या आचार्य र जीप चालक ताप्लेजुङ फुङलिङ निवासी दुर्गा भट्टराईको घटनास्थलमै मृत्यु भयो । उक्त दुर्घटनामा परेर सविना पौडेल आचार्य सख्त घाइते भएकी थिइन् । सबिनाका छोरा भने दुर्घटनाबाट जोगिन सफल भए ।पाँचजना पाथीभराका यात्रु लिएर जाँदै गरेको जीपमा सेवारो चोक नजिक करेन्ट लागेको थियो । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully