यस वर्ष नेपाल र भारतका २३ सेनाले कञ्चनजंघा हिमाल चढ्ने

वैशाख १०, २०८२

आनन्द गौतम

This year, 23 troops from Nepal and India will climb the Kanchenjunga mountain

ताप्लेजुङ — यस वर्ष नेपाल र भारतका सेनाले संयुक्त रुपमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहण गर्ने भएका छन् । वैशाख अन्तिमदेखि ज्येष्ठ दोस्रो सातासम्म हुने आरोहणमा भारतीय सेनाको तर्फबाट १० र नेपाली सेनाको तर्फबाट १३ जना सहभागी हुने उल्लेख छ ।

२३ जनाको आरोहण दललाई आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा भएको छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकले सलामी दस्तुर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा दस्तुर मिनाहा भएको हो । संयुक्त भारत नेपाल कञ्चनजंघा हिमाल आरोहण कार्यक्रमअन्तर्गत हिमाल आरोहणको कार्यक्रम रहेको उल्लेख छ । 

८ हजार ५ सय ८६ मिटर उचाईको यो हिमाल आरोहणका लागि अन्य देशका नागरिक बेसक्याम्प पुग्न थालेका छन् भने आरोहणका लागि आवश्यक सामग्री आधार शिविरमा पुर्‍याइएको छ । 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully