धनकुटा — विदेश जान खर्च जुटाउने बहानामा धनकुटा बजार क्षेत्रमा शृंखलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार भेलामार्फत चोरीमा संलग्न मुख्य अभियुक्त धनकुटा नगरपालिका-६ पात्लेका २६ वर्षीय शोभित खड्कासहित दुई जनालाई सार्वजनिक गरेको हो । वैशाख २ देखि मार्ट, सहकारी संस्था, मनि ट्रान्सफर, किराना पसल तथा सरकारी कार्यालयमा चोरी भएको प्रहरीले जनाएको छ । शृंखलाबद्ध रुपमा पाँच वटा चोरीको घटना भएका प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका खड्काको साथबाट बरामद गरेको १ लाख ६२ हजार ४ सय ७० नगदसहित दुई थान ल्यापटप, मोबाइल र चोरीका घटनामा प्रयोग भएका विभिन्न सामग्री प्रहरीले सार्वजनिक गरेको छ । वैशाख २ गते राति एकै दिन दुई वटा घटना भएका थिए । उक्त दिन धनकुटा नगरपालिका-५ बिहिबारे हाट लाइनस्थित अभिषेक कर्माचार्यको घरमा रहेको रिचमण्ड मार्ट र धनकुटा-४ स्थित सडक भिडिजन कार्यालयको क्वार्टरबाट दुई थान ल्यापटप चोरी भएको जनाइएको छ ।
यस्तै, वैशाख ७ गते धनकुटा-६ शिवपार्क छेउ जमुना श्रेष्ठको घरमा कृष्णप्रसाद दाहालले सञ्चालन गरको कान्तिपुर एयर ट्राभल एण्ट टुर्स प्रालीको सटरबाट ९५ हजार नगद, सीसी क्यामेरा तथा ६ वटा चेक चोरी गरेको प्रहरीले जनाएको छ । वैशाख १८ गत एकै दिन दुई वटा घटना भएका थिए । जसमा धनकुटा-६ स्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयबाट १० हजार २ सय ७० नगद चोरी भएको थियो । सोही दिन धनकुटा-७ को साथी बचत तथा ऋण उपभोक्ता सहकारी संस्थाबाट २९ हजार ४ सय ७० नगद चोरी भएको थियो ।
चोरी घटनाको मुख्य अभियुक्तसहित धनकुटा-६ बिचबजारका हरिबहादुर श्रेष्ठलाई समेत प्रहरीले सार्वजनिक गरेको छ । उनले खड्काले चोरी गरेको ल्यापटप खरिद गरेको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनले १६ हजारमा ल्यापटप खरिद गरेका थिए ।
धनकुटा बजारको एक होटलमा बसेर उनले शृंखलाबद्ध चोरी गर्दै आएको खुलेको छ । मुख्य अभियुक्तलाई धनकुटा र इलाका प्रहरी कार्यालय धरानको समन्वयमा मंगलबार धरानको भानुचोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी श्यामसिं चौधरीले जानकारी दिए । नियन्त्रणमा रहेका दुवै अभियुक्त माथि मुकी अपराध संहिता २०७४ को परिच्छेद २० अन्तर्गत चोरीसम्बन्धी कसूरमा जिल्ला अदालतमा मुद्दा अघि बढाइएको उनले बताए । खड्काले रोमानिया जाने क्रममा करिब डेढ लाख रुपैयाँ फसेपछि चोरी गर्न थालेको प्रहरीमा साबिती बयान दिएको जनाइएको छ ।
